असार २१ काठमाण्डौँ । केही दिन अघि काठमाण्डौँ महानगर प्रहरीले बालुवाटारमा सडकमा लछार पछार गर्दै मकै र ठेला कब्जा गरेर पीडित बनेका सिन्धुपालचोकका चेतेन्द्र आचार्य र उनकी श्रीमती सीता आचार्यलाई युवा तथा साना व्यवशायी स्वरोजगार कोषले दुई लाख सहयोग गरेको छ ।
आज कोषमा एक कार्यक्रमको आयोजना गरी कोषका कार्यकारी उपाध्यक्ष डा. देवराज रोका कल्याणले पीडित दम्पत्तिलाई दुई लाखको चेक हस्तान्तरण गरेका हुन् ।
१३ वर्षदेखि हरियो मकै बेच्ने र पोलेर बेचेर गुजारा गर्दै आएका दम्पत्तिले अब सडकमा धेरै दुखः पाएकाले सटरमा व्यवशाय थाल्ने बताए ।
सो अवसरमा बोल्दै कोषका कार्यकारी उपाध्यक्ष डा. रोकाले काठमाण्डौमा मात्र नभई देशभरीका शहरहरुमा फुटपाथमा व्यवशाय हुने गरेको भन्दै नीति नियम बनाएर सहयोग गरेर वा निश्चित क्षेत्र तोकेर व्यवस्थित गर्नु पर्नेमा जोड दिए ।
उनले स्वरोजगार कोष विकल्प सृजना गर्न सबै स्थानीय तहहरुसँग छलफल गर्न तयार रहेको पनि बताए ।