असार ४ काठमाण्डौँ । मलेसियामा जारी एसीसी महिला टी ट्वान्टी च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो जीत निकालेको छ ।
आज नेपालले कुवेतलाई २५ रनले पाखा लगायो । किनरारा ओभलमा नेपालले दिएको १०८ रनको लक्ष्य पछ्याएको कुवेतले २० ओभरमा ७ विकेट गुमाएर मात्र ८२ रन बनाउदा नेपालको जीत पक्का भयो ।
कुवेतका लागि प्रियादा मुरालीले ३१ रनको योगदान गरिन् । त्यस्तै मारिमा हेदरले १५ तथा कप्तान आम्ना तारिकले १४ रन बनाइन् । बलिङतर्फ नेपालका लागि सीता रानामगरले दुई विकेट लिइन् । त्यस्तै अश्मिना कर्माचार्य, संगीता राई र इन्दु वर्माले एक एक विकेट लिइन् ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १०७ रन बनायो । नेपालका लागि कप्तान रुबिना छेत्रीले सर्वाधिक ३४ रनको योगदान गरिन् । त्यस्तै इन्दु बर्माले २८ रन बनाउँदा ज्योती पाण्डेले १५ रन जोडिन् ।
नेपालकी विन्दु रावलले ११ रनको योगदान गरिन् ।
नेपालले पहिलो खेलमा हिजो भुटानमाथि ५० रनको जीत निकालेको थियो ।