काठमाडौं, २९ जेठ ।
एएफसी एसियन कप छनोटको तेस्रो चरणमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ । शनिबार राति भएको खेलमा नेपाल आयोजक कुवेतसँग ४- १ गोल अन्तरले पराजित भएको हो ।
कुवेतको जाबिर अल अहमद स्टेडियममा घरेलु टोलीलाई जित दिलाउन युसेफ अलसुलिमानले दुई गोल गरे ।
यस्तै फाहद अलेशिदी र मोबारक अल्फानिनीले एक एक गोल गरे । नेपालका दर्शन गुरुङले एक गोल फर्काए ।
खेलको २८ औं मिनेटमा फाहदले हेड मार्फत गोल गर्दै कुवेतलाई सुरुआती अग्रता दिलाएका थिए। त्यसपछि
४८ औं मिनेटमा युसेफ अलसुलिमानले गोल गर्दै कुवेतलाई २ -० को अग्रता दिलाए ।
खेलको ७० औं मिनेटमा युसेफले व्यक्तिगत दोस्रो गोल गर्दै कुवेतलाई ३- ० को अग्रता दिलाए ।
खेलको ७३ औं मिनेटमा अल्फानिनीले गोल गर्दा घरेलु टोली ४- ० ले अघि रह्यो।
त्यसपछि खेलको इन्जुरी समयमा दर्शनले एक गोल गरेपनि नेपाल ४ -१ ले पराजित हुन पुग्यो ।
पहिलो खेलमा नेपाल जोर्डनसँग २ -० ले पराजित भएको थियो ।
यस हारसँगै नेपालको एसिया कपमा छनोट हुने सम्भावना लगभग सकिएको छ । कुवेतको यो पहिलो जित हो । कुवेत २ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
पहिलो खेलमा कुवेतलाई इन्डोनेसियाले हराएको थियो ।
यसैबीच, कुवेतविरुद्धको खेलमा अचेत हुँदै मैदानमा ढलेका नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीको स्वास्थ्य अवस्था सामान्य देखिएको छ ।
अखिल नेपाल फुटबल संघ एन्फाले मुख्य प्रशिक्षक अलमुताईरीको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ ।
एएफसी एसियन कप छनोट अन्तर्गत अहिले भर्खरै सकिएको कुवेतविरुद्धको खेल दौरान अलमुताईरी मैदानको टेक्निकल एरियामा बेहोस हुँदै ढलेका छन् ।
मैदानमा अचेत भएपछि उनलाई मेडिकल टिमले प्राथमिक उपचारपछि अस्पताल पुर्राएको थियो ।
उनलाई मैदानमै अक्सिजन लगाएर अस्पताल लगिएको थियो ।