चैत्र १७ काठमाण्डौँ । नेपालले त्रिकोणात्मक टी ट्वेन्टी क्रिकेट सिरिजमा नेपालले पपुवा न्युगिनीमाथि ३७ रनको शानदार जीत निकालेको छ । नेपालले दिएको २०४ रनको बिशाल लक्ष्य पछ्याएको पपुवा न्युगिनी १९.४ ओभरमा अलआउट भयो । नेपालका लागि उत्कृष्ट बलिङ गरेका करण केसी एक्लैले अन्तिम ओभरमा ह्याट्रीक गर्दै पाँच विकेट लिए । उनको अन्तराष्ट्रिय क्रिकेटमा ५० विकेट पनि पूरा भएको छ । करणले पहिलो ओभरमा पनि विकेट लिएका थिए । करणले कुल ३.४ ओभरमा २१ रन खर्चेर उक्त विकेट लिएपछि नेपाल शानदार जीतमा पुगेको हो ।
नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ३३ बलमा ४ छक्का र तीन चौका सहित ६६ रन बनाए । त्यसपछि रोहित पौडेलले २३ बलमा ४१ रन बटुले । उनले २ छक्का र चार चौका हिर्काए । ओपनर आशिफ शेखले एक छक्का र चार चौकाको मद्धतमा ३८ रनको योगदान दिए । डेब्यु खेलमै मोहम्मद आदिल आलमले ११ बलमै ३१ रन जोड्ने क्रममा तीन छक्का र एक चौका प्रहार गरे ।
ओपनर कुसल भुर्तेलले १७ रन बनाउदा दिलीप नाथ शुन्य रनमा आउट भए ।
पपुवा न्युगिनीका लागि चाल्र्स अमिनिले सर्वाधीक ६२ रन बनाएका थिए ।
यो जीतसँगै नेपाल सिरिजको फाईनल पुगेको छ ।
नेपालले अब मलेशिया बिरुद्ध खेल्नेछ ।