फागुण २० काठमाण्डौँ । रुस युक्रेन युद्धले विश्व व्यापी अर्थतन्त्रलाई ठूलो प्रभावित पार्न शुरु गरेको छ । यसले अमेरीका सहित संसारभर महंगी बढ्न शुरु भएको छ ।
यसको सबै भन्दा असर गरीब देशहरुमा पर्ने देखिन्छ । अहिले युद्ध शुरु भएपछि लगातार कच्चा तेलको मुल्यमा भारी वृद्धि शुरु भएको छ ।
यसले नेपालमा सबै भन्दा पहिला पेट्रोलियम पदार्थको मुल्य अझ निरन्तर बढ्ने देखिन्छ । अहिले पहिलो चरणमै नेपालमा पेट्रोलको मुल्य १५० रुपैया प्रतिलिटर पुगेको छ । यति गर्दा पनि निगम मासिक अर्बौ घाटामा पुगेको छ ।
ओपेकका अनुसार सन् २०१३ यताकै सबै भन्दा बढी कच्चा तेलको मुल्य वृद्धि भएको छ अहिले कच्चा तेलको मुल्य ११८ डलर पुगेको छ । जब कि मार्च १ मा आयल निगमले आईओसीसँग तेल किन्दा कच्चा तेलको मुल्य ९८ डलर प्रति ब्यारेल भन्दा कम थियो । यसले अर्को १५ दिन अर्थात मार्च १६ पछि नेपालले फेरी पेट्रोलियम पदार्थ खरीद गर्दा ठूलो रकम भुक्तानी गर्नु पर्ने निश्चित छ । यसले आयल निगमका अधिकारीहरु पनि चिन्तत बन्न थालेका छन् ।
यसो गर्दा फेरी पनि भाउ वृद्धि या सरकारले अनुदान दिएर निगम सञ्चालन गर्नु पर्ने हुन्छ । पेट्रोलियम पदार्थको मुल्यवृद्धिले चौतर्फी असर गर्ने देखिरहँदा अहिले पेट्रोलमा सरकारले लिने कर घटाउने या के गर्ने भन्नेमा योजना बनिसकेको छैन ।
आजैबाट खोजौँ पेट्रोलियम पदार्थको विकल्प
नेपालमा पेट्रोलियम पदार्थको विकल्प विद्युतीय प्रयोग बढाउनु नै हो । भान्सादेखि यातायात सम्म विद्युतीय उपकरण र सवारीसाधनको प्रयोग बढाउदै पेट्रोलियम पदार्थको उपयोग घटाउने तिर नजाने हो भने नेपालको अर्थतन्त्रले थप जोखिम भोग्नु पर्ने निश्चित छ । अब प्रत्यक गाँउ शहरमा भरपर्दो विद्युतीकरण त्यसको प्रयोगबाट चल्ने सवारी साधन, भान्सामा ग्यास सिलिण्डरको साटो विद्युतीय चुल्हो जस्ता उपकरणको प्रयोगमा जोड दिन ठोस कार्यक्रम बनाउनु पर्ने देखिन्छ । यो विकल्प छनौटलाई व्यवस्थित बनाउदै नलाने हो भने देशको बैदेशिक ब्यापार घाटा मात्र हैन आन्तरीक आर्थिक जीवन पनि थप संकटमा पर्दै जाने निश्चित छ ।