काठमाडौं । मच्छिन्द्र फुटबल क्लबले १३ खेलमा २ गोल मात्र खाएर सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि उचालेको छ ।
शनिबार दशरथ रंगशालामा भएको प्रतियोगिताको अन्तिम खेलमा एपीएफलार्ई पराजित गरेसँगै मच्छिन्द्रले १३ खेलमा ३५ अंकसहित दोस्रोपटक उपाधि उचालेको हो ।
मच्छिन्द्रले ११ खेलमा जित र दुई खेलमा बराबरी खेलेको थियो ।
पहिलो खेल २–१ को जित निकालेको मच्छिन्द्रले अन्तिम खेल पनि २–१ कै जित निकालेको हो ।
शनिबारको खेलको ४१औं मिनेटमा अभिषेक गुरुङले गोल गर्दै मच्छिन्द्रलाई अग्रता दिलाए पनि दोस्रो हाफको ६९औं मिनेटमा प्रदीप लामाले गोल गर्दै एपीएफलाई बराबरीको अवस्थामा ल्याए ।
तर खेलको ८१औं मिनेटमा मच्छिन्द्रका रेजिन सुब्बाले गोल गर्दै लिगको सुखद अन्त्य गरे । त्यसपछि पनि एपीएफले थुप्रै गोल गर्ने अवसर पाए पनि गोलमा परिणत गर्न सकेन ।
मच्छिन्द्रले ११औं चरणमा नै सिजन जितिसकेको थियो ।