नेपालले विश्वकप छनौट क्रिकेटमा समुह चरणको अन्तिम खेलमा नेपालले आज क्यानडा बिरुद्ध उत्कृष्ट बलिगं गर्दै १५ ओभरमा ८० रनमा अलआउट गरेको छ । नेपालका लागि कप्तान सन्दीप लामिछानेले ३ विकेट लिए । उनले ४ ओभरमा १२ रन खर्चिए ।
कमलसिंह ऐरीले पहिलो ओभरमै म्याथ्यु स्पुर्सलाई शून्यमा आउट गरी नेपाललाई सानदार सुरुआत दिलाए । कमलले पाँचौं ओभरमा कप्तान नवनित धालिवालको पनि विकेट लिए । धालिवालले १४ बल खेली २ चौका र १ छक्का प्रहार गर्दै १८ रन बनाए ।
साद बिन जाफर पनि २ रनमा रनआउट भए । अविनाशले ३ ओभरमा ७ रन खर्चेर २ र कुशल मल्लले १ विकेट लिए ।
अन्तिम जोडी सलमान नजर र डिल्लोन हेयलिगरले ३२ रन जोडेपछि क्यानडाको यो स्कोर खडा भयो । हेयलिगरले सर्वाधिक २४ रन बनाए ।
नेपालले क्यानडालाई पराजित गरेमा समूह ‘बी’ को विजेता भएर यूएईसँग सेमिफाइनल खेल्ने छ । यूएई आजै भएको खेलमा बहराइनसँग २ रनले पराजित भए पनि समूह उपविजेता भएर सेमिफाइनल पुगेको छ । आयरल्यान्डले जर्मनीलाई ७ विकेटले पराजित गरी समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
नेपालले ओमानलाई ३९ र फिलिपिन्सलाई १ सय ३६ रनले पराजित गरेको थियो ।