नेपालमा पछिल्लो समय शेयर बजारमा अत्याधिक ठूलो संख्यामा जनता सहभागी हुन थालेका छन् । खास गरी लकडाउन यता विभिन्न कम्पनीको आईपिओ भर्न उल्लेख्य मानिसहरु डिम्याट खाता खोलेर बजारमा आएको देखिन्छ । सिडिएससीको तथ्यांक अनुसार यो हप्ता सम्म डिम्याट एकाउन्ट खोल्नेको संख्या ४८ लाख ५ हजार ८२० पुगेको छ । दिनहुँ डिम्याट खोल्नेहरुको संख्या बढी नै रहेको छ । यो भनेको नेपालको जनसंख्या कुल ३ करोड नै मान्ने हो भने पनि करीब १६ प्रतिशत जनसंख्या शेयर बजारमा जोडिन डिम्याट खोल्न पुगेको देखिन्छ । यो भनेको आधा करोड हाराहारी हुन आँउछ । यो प्रतिशत छिमेकी मुलुक भारत र चीनमा भन्दा बढी प्रतिशत नागरिक शेयरमा आवद्ध भएको देख्न सकिन्छ ।
डिम्याट लिने मध्य मोबाईलबाटै आईपिओ ( प्राथमिक शेयर ) आवेदन गर्न मेरो शेयर एप चलाउनेको संख्या पनि ३९ लाख बढी पुगेको छ ।
शेयरको अनलाईन खरीद बिक्री गर्ने टिएमएस सेवा लिनेको संख्या पनि २५ लाख नाघेको छ ।
विसं २०४६ पछि नेपालले अबलम्बन गरेको आर्थिक उदारिकरणको नीतिले पूँजीबजारलाई गतिशील बनाउन ठूलो सहयोग गर्यो । २०५० मा ’धितोपत्र कारोबार ऐन २०४०’ को दोस्रो संशोधन गरी धितोपत्र खरीदविक्री केन्द्रलाई हालको ’नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा रुपान्तरण गरियो । त्यसपछि नेप्से परिसूचक गणना गर्ने गरी २०५० पुस २९ देखि नियमित कारोबार सुरु भएको हो ।
यसले क्रमश नेपाली शेयर बजारमा लगानीकर्ताको संख्या , सूचीकृत कम्पनीमा पनि बृद्धि, कारोबारी तथा लगानीकर्ताको संख्या मात्रै हैन दैनिक अर्बौ रुपैयाको कारोबार समेत हुँदै गएको छ । अलटाईम हाई कारोबारका रुपमा २१ अर्ब सम्मको कारोबार नेपाली बजारमा भएको रेकर्ड छ ।