ए डिभिजन लिगमा संकटा र सातदोबाटोको बराबरी, जावलाखेल र एपीएफ पनि बराबरीमै

ए डिभिजन लिगमा संकटा र सातदोबाटोको बराबरी, जावलाखेल र एपीएफ पनि बराबरीमै

  • शुक्रबार, पुस २३, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाडौं, २३ पुस । संकटा क्लबले शुक्रबार सहिद स्मारक ए डिभिजन लिगमा नव प्रवेशी सातदोबाटो युथसँग १(१ को बराबरी खेलेको छ । यससँगै संकटाले शीर्ष स्थानका मनाङ मर्स्याङ्दी क्लब र मछिन्द्र फुटबल क्लबसँग अंक दूरी घटाउने मौका गुमाएको छ ।

बराबरीपछि संकटा १४ अंकका साथ तेस्रो स्थानमा यथावत छ । शुक्रबार जितेको भए संकटाले दोस्रो स्थानको मनाङसँग अंक बराबर गर्ने थियो । तर, बराबरीपछि त्यो मौका गुमायो । मछिन्द्र १७ अंकका साथ शीर्ष स्थानमा छ ।

मनाङले शनिबार पोखरा रंगशालामा च्यासल युथविरुद्ध प्रतिस्पर्धा गर्नेछ भने मछिन्द्रले पुछारको फ्रेण्ड्सविरुद्ध खेल्नेछ । बराबरीपछि सातदोबाटो भने ९ अंकका साथ आठौं स्थानमा यथावत छ ।

सातदोबाटोले विपक्षी गोलकिपर राजाबाबु थापाले गरेको गल्तीको फाइदा उठाउँदै २३औं मिनेटमा अग्रता लिएको थियो । संकटाका रक्षक निरज बस्नेतले दिएको ब्याक पासलाई गोलकिपर राजाबाबुले राम्रोसँग क्लियर गर्न सकेनन् । राजाबाबुले सातदोबाटो युथका दीपकराज सिंह ठकुरीलाई छलाएर क्लियर गर्न लाग्दा चिप्लिएर लडे । त्यसपछि प्रहार गरेको बल सातदोबाटोकै फरवार्ड सुशील राईको छातीमा लागेर पोष्ट भित्र छिर्‍यो ।

३०औं मिनेटमा सातदोबाटोका सुदीप गुरुङ आभागी बने । दीपकराजले दिएको ब्याक पासमा सुदीपले २३ यार्डबाट हानेको प्रहार क्रसबारमा लागेर बाहिरिएको थियो ।

त्यसको दुई मिनेट बित्न नपाउँदै संकटाका जया गुरुङले बराबरी गोल फर्काए । ३२औं मिनेटमा दीपेश आलेमगरको पासमा जय गुरुङले २५ यार्डबाट दोस्रो बार च्यापेर हानेको लामो प्रहारलाई सातदोबाटोका गोलकिपर अविशेक बरालले रोक्न सकेनन् ।

दोस्रो हाफमा सातदोबाटोले गोलका केही राम्रा अवसर सिर्जना गरे पनि सदुपयोग गर्न नसक्दा अंक बाड्न बाध्य भयो ।
जावलाखेल र एपीएफको बराबरी
काठमाडौं, २३ पुस । सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत शुक्रबार सम्पन्न दोस्रो खेलमा जावालाखेल यूथ क्लब र एपीएफ क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा दुवै टोली पाएका अवसर सदुपयोग गर्न सकेनन् र अंक बाढ्न बाध्य भए ।

२०औं मिनेटमा जावलाखेलका निकोलस फर्नान्डेजको पासमा सुनिल खड्काले गरेको प्रहार गोलपोस्ट भन्दा माथिबाट बाहिरिएको थियो ।

४०औं मिनेटमा अन्गुना जुनियरले बक्सबाहिरबाट गरेको प्रहार पोस्ट भन्दा माथिबाट बाहिरिएको थियो ।

पहिलो हाफको इन्जुरी समयमा एपीएफका मणिकुमार लामाले हानेको फ्रिकिक पोस्ट नजिकैबाट बाहिरियो ।

४९औं मिनेटमा एपीएफका आशिष लामाको प्रहार जावालाखेलका रक्षकले विफल पारेका थिए ।

६२औं मिनेटमा सुनिल खड्काले उपलब्ध गराएको पासमा अन्गुना जुनियरले गरेको हेडर बाहिरिँदा जावलाखेलले अग्रता लिने अवसरबाट वञ्चित भयो ।

७२औं मिनेटमा जावलाखेलका दिपेन्कराज सिंहले गरेको प्रहार बाहिरियो ।

८५औं मिनेटमा एपीएफका नवीन लामाको कर्नरमा बिक्की तामाङको प्रहार पहिलो बार नजिकबाट बाहिरिएको थियो ।

बराबर पछि जावलाखेल सात खेलमा आठ अंकसहित नवौं स्थानमा छ भने समान खेलमा सात अंक बटुलेको एपीएफ दसौँ स्थानमा छ ।

यसअघि शुक्रबार सम्पन्न खेलमा पहिलो खेलमा संकटा क्लब र सातदोबाटो क्लबले १–१ को बराबरी खेलेका थिए । आठौं चरण अन्तर्गत शनिबार तीन खेल हुनेछ । दुई खेल काठमाडौंमा हुँदा एक खेल पोखरामा हुनेछ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ