पोखरा, १७ पुस । मनाङ मर्स्याङ्दी क्लब ब्रिगेड ब्वाइज क्लब ९बिबिसी०लाई हराउँदै पुनः लिग तालिकाको शीर्षमा उक्लिएको छ । शनिबार होम ग्राउण्डमा ब्रिगेडविरुद्ध १–० को संघर्षपूर्ण जीत निकालेसँगै १६ अंकसहित मनाङ फेरि शीर्षमा पुगेको हो ।
मछिन्द्रले पुलिसलाई नजिते मनाङ एएफसी कपमा छनोट हुने भएको छ । मनाङ भन्दा एक खेल कम खेलेको मछिन्द्र १४ अंकका साथ दोस्रो स्थानमा छ । छनोटका लागि मछिन्द्र र पुलिसबीचको खेल कुर्नुपर्ने हुन्छ । पुलिसले बराबरीमा रोके मात्रै पनि मनाङ छनोट हुनेछ ।
कप्तान अञ्जन विष्टले पहिलो हाफको इन्जुरी समयमा गरेको गोल नै मनाङलाई जित्न काफी भयो । दुवै टिमले गोल गर्ने उत्कृष्ट मौका पाए पनि सही दिशा दिन सकेनन् ।
संकटा च्यासलसँग रोकियो
न्युज कारखाना
काठमाडौं, १७ पुस
च्यासल यूथ क्लबसँग अंक बाँडेपछि संकटा क्लबले सहिद स्मारक ए डिभिजन लिगको दोस्रो स्थानमा उक्लिने अवसर गुमाएको छ ।
शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न दिनको अन्तिम खेलमा दुवै टोलीले गोलका केही अवसर बनाए पनि त्यसको सदुपयोग गर्न सकेनन् ।
पाँचौँ मिनेटमा मैदानको दायाँ भागबाट फोडे फोफनाको पासमा उत्तम राईको हेडर च्यासलका डिफेन्डर अभिषेक लिम्बुले गोल लाइनबाट बचाउँदा संकटा अग्रता दिनबाट चुकेको थियो ।
१०औं मिनेटमा संकटाले पुनः अग्रता लिने अवसर पायो तर त्यसको सदुपयोग भने गर्न सकेन । उत्तम राईको प्रहार च्यासलका गोलरक्षक प्रदीप भण्डारीले पञ्च गर्दा रिबाउन्डमा प्राप्त बलमा अनमार्क रहेका फोडे फफोनाको प्रहार बारमा लाग्दै फर्कियो ।
१९औं मिनेटमा रुमेश बर्तौलाको पासमा विकास मेराग्लियाको प्रहार बाहिरिँदा च्यासल निराश बनेको थियो ।
पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा संकटाका नीरज बस्नेतको फ्रिककमा जोर्डन जुनियरले मिलाइदिएको पासमा उत्तमको प्रहार बाहिरिएको थियो
५८औं मिनेटमा संकटाका अमित तामाङको फ्रिकिक त्च्यासलका गोलकिपर प्रदीप भण्डारीले विफल पारे । ६३औं मिनेटमा सन्तोष साहुखलको पासमा राजीव लोप्चनको प्रहार संकटाका गोलरक्षक राजुबाबु थापाले उत्कृष्ट बचाउ गर्दा च्यासल निराश बनेको थियो ।
७४औं मिनेटमा टिकाराज गुरुङको पासमा वान भर्सेज वानमा नीरज बस्नेतको प्रहार च्यसालका रक्षक अभिषेकले गोललाइनबाट क्लियर गरे ।
संकटा सात खेलमा १३ अंकसहित तेस्रो स्थानमा छ । च्यासलमाथि जित हात पारेको भए संकटा दोस्रो स्थानमा उक्लिने थियो ।
च्यासल भने सात खेलमा ५ अंकसहित १३औं स्थानमा छ ।
थ्रि स्टारको दोस्रो जित
सहिद स्मारक ए डिभिजन लिगमा थ्रि स्टारले पछिल्लो चार खेलदेखिको जितविहीन यात्रामा पूर्णविराम लगाएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न पहिलो खेलमा थ्रि स्टारले छिमेकी प्रतिद्वन्द्धी जावलाखेल युथ क्लबलाई २–१ ले पराजित गरेको हो ।
पहिलो खेलमा च्यासल युथ क्लबलाई हराएको थ्रि स्टारले दोस्रो खेलमा सातदोबाटो युथ क्लबलाई नतिजा सुम्पिएको थियो । थ्रि स्टार तेस्रो खेलमा फ्रेन्डस क्लब, चौथो खेलमा एपीएफ, त्रिभुवन आर्मी क्लब र एनआरटीसँग अंक बाँडेको थियो ।
थ्रि स्टारका लागि आयुष घलान र ऋतिककुमार खड्काले समान एक गोल गरे । जावलाखेलका निकोलस फर्नान्डेजले एक गोल गरे । सातौँ मिनेटमा आयुषले थ्रि स्टारको लागि गोल खाता खोलेका थिए । आयुषले संजोग राईको पासलाई जाली चुमाएका थिए । फ्रेन्डसविरुद्ध मिडफिल्डर मिक्चेन तामाङले गरेको गोलपछि थ्री स्टारका खेलाडीले बललाई पोस्टको दिशा दिएको यो नै पहिलो पटक थियो ।
त्यसको दुई मिनेटपछि नै जावलाखेलले खेलमा फर्कने अवसर पाए पनि त्यसको सदुपयोग गर्न सकेन । ओनगुना जुनियर थ्रि स्टारका गोलकिपर प्रिसोसँग वान भर्सेस वानमा गोल गर्न चुके ।
२५औँ मिनेटमा संजोगकै पासमा ऋतिकले गोल गर्दै थ्रि स्टारको अग्रता दोब्बर पारेका थिए ।
त्यसको तीन मिनेटपछि जावलाखेलका निकोलस फर्नान्डेजको प्रहारमा क्रस बार बाधक बन्यो ।
पहिलो हाफको इन्जुरी समयमा जावलाखेलका लोइच एनजिमीले गरेको प्रहार प्रिसोले उत्कृष्ट बचाउ गरे । ५५औं मिनेटमा फर्नान्डेजले गोल गर्दै जावालखेलाई फर्काउने संकेत गरे पनि त्यो पर्याप्त भएन ।
थ्री स्टार सात खेलमा १० अंकसहित पाँचौ स्थानमा उक्लिएको छ । जावलाखेल भने समान खेलमा सात अंक बटुल्दै नवौ स्थानमा यथावत छ ।
खेलपछि बोल्दै जावलाखेल युथका प्रशिक्षक किशोर केसीले खेलाडीले राम्रो खेलेका बताउँदै धन्यवाद दिए । उनले मैदानको कारण खेलाडीले राम्रो खेल्न नसकेका प्रतिक्रिया दिए ।
‘आज मैदानका कारण पनि राम्रो खेल्न सकेनौं । खेलाडीले राम्रो खेले धन्यवाद दिन्छु ।’ केसीले भने ।
यता, विजेता टोली थ्रीस्टारका प्रशिक्षक उर्जन श्रेष्ठले चार खेलपछि समयमा गोल हुँदा जित भएको बताउँदै खेलमा भाग्यले समेत साथ दिएको बताए ।
‘चार खेलपछि समयमै गोल निस्कियो । स्ट्राइकर समेत नयाँ थियो । जितले खुसी छु । लकले पनि साथ दियो ।’ श्रेष्ठले भने ।