माओवादीले प्रतिनिधिलाई समर्थकको घरमा राख्ने, नीति प्रधान अधिवेशन बनाउने

माओवादीले प्रतिनिधिलाई समर्थकको घरमा राख्ने, नीति प्रधान अधिवेशन बनाउने

  • बिहिबार, मंसिर २३, २०७८
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

विराटनगर, २३ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले प्रदेश १ को प्रथम अधिवेशनलाई नेता प्रधानभन्दा पनि नीति प्रधान बनाउने बताएको छ ।
विराटनगरमा प्रदेश अधिवेशनबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा प्रदेश १ माओवादी केन्द्रका इन्चार्ज राम कार्कीले यस्तो बताएका हुन् ।
कार्कीले अधिवेशनमा सहभागी हुन आउने प्रदेश १ का झण्डै १ हजार १ सय बढी प्रतिनिधिलाई कार्यकर्ता, समर्थक र आफन्तको घरमा राखिने भएको छ । ‘मोरङको विराटचोकमा हुने अधिवेशनमा आउने प्रतिनिधिलाई होटलमा राखेर मासुभात खुवाउने कार्यक्रम हाम्रो छैन,’ कार्कीले भने, ‘पार्टीले दुई छाक सादा खानाको व्यवस्था गरेको छ, चिया विस्कुट खुवाउँछ र कार्यकर्ता, समर्थक तथा आफन्तको घरमा राख्ने व्यवस्था गरेको छ ।’
नेकपा माओवादी केन्द्रको प्रदेश अधिवेशन यही मंसिरको २५ र २६ गते मोरङको सुन्दरहरैँचास्थित विराटचोकमा हुनेछ । इन्चार्ज कार्कीले अन्य पार्टीले विचार, नीति निर्माणमा भन्दा नेतृत्वमा जोड दिएको दाबी गरे । ‘हामी ठूला ठूला गेट निर्माण गरेर, लाखौंको मञ्च बनाएर, करोडौं खर्च गरेर मानिस भेला पारेर देखावटी अधिवेशन र सम्मेलन गर्दैनौं,’ कार्कीले भने, ‘शरिर भएर मात्रै हुँदैन मुटु कलेजो पनि चाहिन्छ, त्यसकारण हामी विचार निर्माणमा जोड दिने गरी अधिवेशनलाई केन्द्रीत गरेका छौं ।’
गणतन्त्र, संघीयता र समावेशी लोकतन्त्र स्थापनामा माओवादीले नेतृत्वदायी भूमिका खेलेको भन्दै कार्कीले आगामि दिनमा प्रत्येक जनताको घर, गाउँ र समुदायमा गणतन्त्र, संघीयता र समावेशी लोकतन्त्रको अनुभूति दिने कार्यदिशा तय गर्ने गरी अधिवेशन केन्द्रीत हुने बताए ।
अधिवेशनमा धेरै खर्च गर्ने भन्दा पनि विचारको मन्थन गर्ने भएकाले प्रदेश अधिवेशन खर्चिलो नहुने उनले जनाए । ‘हाम्रो प्रदेश अधिवेशन कुनै अमुक व्यक्तिलाई स्थापित गराउने होइन,’ उनले भने, ‘हाम्रो अधिवेशन नीतिप्रधान अधिवेशन हुनेछ ।’
नेकपा माओवादी केन्द्रका प्रदेश सचिव हेमराज भण्डारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सबै प्रदेशको अधिवेशन एकै पटक हुने भएकाले संयुक्त रुपमा भर्चुअल माध्यमबाट सम्बोधन गर्ने जानकारी दिए ।
प्रदेश अधिवेशनबाट पार्टीको विधानअनुसार ९ जना पदाधिकारी चयन हुनेछ । जसमा अध्यक्ष १, उपाध्यक्ष महिलासहित ३, सचिव १, सहसचिव ३ र कोषाध्यक्षसहितको प्रदेश समिति निर्वाचित हुनेछन् ।
पार्टी विधानअनुसार अधिवेशनपछिको नेतृत्व पूर्ण समावेशी र अधिकारसम्पन्न बनाउन नेतृत्वमा ३५ प्रतिशत महिला, प्रदेशमा रहेको जनसंख्याको अनुपातमा थप २ प्रतिशत दलित, ५ प्रतिशत मुस्लिम र २० प्रतिशत युवाहरूको सहभागिता सुनिश्चित गरिने नेकपा माओवादी केन्द्रले जनाएको छ । अधिवेशनबाट २५९ सदस्यीय समिति निर्माण हुने जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ