बिरुवा बिक्रीबाट राम्रो आम्दानी

बिरुवा बिक्रीबाट राम्रो आम्दानी

  • आइतवार, मंसिर ५, २०७८
  • मिर्मिरे अनलाइन

  • 12K
    SHARES

रामपुर, ५ मङ्सिर ९रासस० स् रामपुर नगरपालिका–३ गण्डकी ढिक बस्ने ६० वर्षीय गोविन्दप्रसाद दुवाडीले दुई दशक बढीको समय बिरुवा उत्पादनमा बिताउनुभयो । उमेर ढल्कदै जाँदा उहाँलाई यो व्यवसायबाट टाढा रहन पटक्कै मन छैन ।

विसं २०५५ देखि दुवाडीले निरन्तररुपमा आजसम्म बिरुवा उत्पादन गरिरहनुभएको छ । उहाँ करिब एक रोपनी जग्गामा हरेक वर्ष प्याज, काउली, बन्दा, गोलभेँडाका बिरुवा उत्पादन गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “तरकारीका बिरुवा उत्पादन गरेको २४ वर्ष भइसकेछ, समय गएको पत्तो भएन, ग्राहकलाई बिरुवा बिक्री गर्दैमा दिन बितिरहेछ, समय बिताउने माध्यम र आयआर्जन गर्ने बाटो बनेको छ ।”

उहाँले गत वर्ष मात्रै बिरुवा बेचेर रु दुई लाखसम्म आम्दानी लिनुभयो । यस वर्ष पनि सोही बराबरको आम्दानी हुने उहाँको अनुमान छ । आफूले निरन्तर यो व्यवसाय गर्दै आए पनि अहिलेसम्म कहीँकतैबाट सहयोग भने नपाएको उहाँ गुनासो गर्नुहुन्छ । “विशेषगरी धान बालीको उत्पादन सकिएपछि मङ्सिर पुसलाई लक्षित गरी नियमितरुपमा २४ वर्षअघिदेखि बिरुवा उत्पादन गरिराखेको छु, यसले समाजमा राम्रो पहिचान बनेको छ, दाम पनि राम्रै हात परेको हुँदा खुसी छु”, उहाँले भन्नुभयो ।

कुनै पनि तालिम नलिइ दुवाडीले काम गर्दै जाने क्रममा धेरै ज्ञान सीप अनुभव बटुल्दै व्यवसाय धान्नुभएको छ । यस व्यवसायमा उहाँलाई श्रीमती मतिकलाले पनि सघाउनुभएको छ । अहिले दुवाडी दम्पतीको दैनिकी बिरुवाको रेखदेख र बिक्रीमै बित्ने गरेको छ । बिरुवा उत्पादन हुनुभन्दा अघिदेखि नै विभिन्न स्थानबाट माग आउने गरेको मतिकला बताउनुहुन्छ ।

यहाँ प्याज रु दुईका पाँच वटा बिरुवा धमाधम बिक्री भइरहेका छन् । कृषक दुवाडीले पाल्पासहित काठमाडौँ, सिन्धुपाल्चोक, पोखरा, नारायणघाट, तनहुँ, स्याङ्जा, नवलपुरलगायत विभिन्न स्थानमा ग्राहकको मागअनुसार बिरुवा पठाउनुहुन्छ ।

रामपुरको बिरुवा राम्रो हुने थाहा पाएपछि यस वर्ष स्याङ्जाको गल्याङ नगरपालिका– ११ बस्ने सूर्य अधिकारी पहिलो पटक बिरुवा खरिद गर्न आउनुभएको छ । उहाँ भन्नुहुन्छ, “रामपुरको प्याजको बिरुवा राम्रो हुने भन्ने छिमेकी सबैले कुरा गरेको सुनेपछि म पनि पहिलो पटक यहाँ आएर बिरुवा खरिद गरेको छु, बिरुवा हेर्दा असाध्यै राम्रो देखेपछि आफूलाई मात्र नभई छिमेकी तथा आफन्तलाई पनि खरिद गरिदिएको छु ।”

यस्तै रामपुरकै रोजी खातुन पनि यहीँको नर्सरीमा उत्पादन भएको बिरुवा खरिद गरेर लगाउनुहुन्छ । उत्पादन राम्रो हुने भएकाले प्याज, काउली, बन्दाका बिरुवा खरिद गरेर लगाउने गरेको उहाँ बताउनुहुन्छ । “उत्पादन धेरै राम्रो हुन्छ, फल लागेन भन्नु पर्दैन, उन्नत जातको आफूले खोजेजस्तो बिरुवा पाइने हँुदा यहीँबाटै बिरुवा खरिद गरी घरमा लगाउने गरेको छु”, उहाँले भन्नुभयो ।

रामपुर–६ सातबिसे बस्ने लेखनाथ रेग्मीले पनि विगत सात÷आठ वर्षदेखि निरन्तर बिरुवा उत्पादन गर्नुभएको छ । प्याज, काउली, बन्दा, गोलभेँडालगायतका बिरुवा उत्पादन गरी एकयाममै रु ६० हजार आम्दानी लिने गरेको रेग्मी बताउनुहुन्छ । “मङ्सिरमा धानबाली उत्पादन लिएपछि सबैले प्याज, काउली, बन्दाका बिरुवा खोज्नुहुन्छ, यो याममा बिक्री गर्न सहज र आम्दानी पनि राम्रो लिन सकिन्छ, घरको अन्य कामसँगै बिरुवा उत्पादनलाई पनि जोड दिने गरेको छु”, उहाँले भन्नुभयो ।

कृषक, कृषक समूह वा कृषि फार्मलाई नर्सरी स्थापनाका लागि प्लाष्टिक टनेल सिट, स्प्रेयर, साना कृषि औजार तथा उपकरण अनुदानमा उपलब्ध गराउँदै आएको कृषि शाखा प्रमुख रामहरि पाण्डेयले जानकारी दिनुभयो । “व्यावसायिक तरकारीका बिरुवा उत्पादन गर्ने कृषक वृद्धि हुँदै गएका छन्, नगरपालिकाले ५० प्रतिशत अनुदानमा उन्नत तथा वर्ण शङ्कर जातको तरकारीको बीउ कृषकलाई उपलब्ध गराउँदै आएको छ”, उहाँले भन्नुभयो ।

थोपा सिँचाइ, मल्चिङ प्रविधिमा कृषकको आकर्षण छ । कम लगानीमा घरमै बसी बिरुवाको व्यापारबाट कृषकले राम्रो आर्थिक लाभ लिइरहेका छन् । अन्यत्र विरुवा खरिद गरेर घरमा लगाउने कृषक हिजोआज आफैँले घरमा नर्सरीमा बिरुवा उत्पादन गर्ने गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी