कार्तिक २५, काठमाडौँ । नेपाल धितोपत्र बोर्डको अध्यक्षमा १२ जनाको आवेदन परेको छ । आवेदन दिने अन्तिम दिन बिहिवार कार्यालय समयसम्म १२ जनाको आवेदन परेको अर्थ मन्त्रालय स्रोतले बताएको छ ।
धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरी, उपकार्यकारी निर्देशक नवराज अधिकारी, राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक गोपाल भट्ट, कर्मचारी सञ्चय कोषका पूर्वप्रशासक कृष्णप्रसाद आचार्य, नेपाल स्टक एक्सचेन्ज (नेप्से)का पुर्व प्रमुख कार्यकारी अधिकृत सिताराम थपलिया र बिमा समितिका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाइंको आवेदन परेको बताइएको छ ।
यस्तै अनिल पौडेल, केशवप्रसाद श्रेष्ठ, जीवन अम्गाई, रमेश हमाल, हेमन्त बस्याल र अम्बिका शर्मा लामिछानेको पनि अध्यक्षका लागि आवेदन परेको बताएको छ ।
बोर्ड अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेलको संयोजकत्वमा गठित सिफारिस समितिले १५ दिनको समय दिएर कात्तिक ११ मा शिलबन्दी आवेदन आह्वान गरेको थियो ।
समितिका सदस्यमा अर्थसचिव मधुकुमार मरासिनी र प्राडा नारायण पौडेल छन् । अबसमितिले परेका आवेदनमध्ये समितिले तीन जनाको नाम सिफारिस गर्नेछ । तीनै नाममध्येबाट मन्त्रिपरिषदले १ जनालाई अध्यक्ष छान्नेछ । नयाँ बन्ने अध्यक्षको कार्यकाल करिब दुई वर्ष मात्र हुने छ ।
सेबोनका पूर्वअध्यक्ष भीष्मराज ढुंगानाको बर्खास्तीपछि उक्त पद खाली छ । सर्वोत्तम सिमेन्टको सेयर कारोबारमा संलग्न भएको भेटिएपछि ढुङगानालाई सरकारले बर्खास्त गरेको थियो ।