कार्तिक २४, काठमाडौँ । पेट्रोलियम पदार्थको मुल्य पुनः बढेको छ । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्याससहित सबै प्रकारको इन्धनको मूल्य बढाएको हो । इन्डियन आयल कर्पोरेसनले कात्तिक १५ गते पठाएको नयाँ मूल्यसुचीअनुसार इन्धनको भाउ बढेको जनाउँदै निगमको सन्चालक समितिको बैठकले बुधबार राती १२ बजेदेखि लागू हुनेगरी पेट्रोल र डिजेल तथा मट्टितेल आन्तरिक तथा बाह्य हवाई इन्धन, अन्तराष्ट्रिय हवाई इन्धन र एलपी ग्यासको मुल्य एकैपटक बढाएको हो ।
निगमका सहप्रवक्ता पुष्कर कार्कीका अनुसार नयाँ मूल्यअनुसार १५ दिनमा ३ अर्ब २ करोड घाटा हुने देखिएपछि निगम सञ्चालक समितिले इन्धनको मूल्य बढाउने निर्णय गरेको हो ।
‘सञ्चालक समितिको निर्णयअनुसार पेट्रोल, डिजेल र मटितेलको साबिकको बिक्री मूल्यमा प्रतिलिटर ३ /३ रुपैयाँ, खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर ७५ रुपैयाँ बढाउने निर्णय भएको छ,।’
निगमले आन्तरिक तथा बाह्य हवाई इन्धनमा साविकको बिक्री मूल्यमा प्रतिलिटर ५ रुपैयाँले वृद्धि गरेको जनाएको छ । मूल्यवृद्धिपश्चात् पेट्रोलको नयाँ खुद्रा बिक्री मूल्य प्रतिलिटर १ सय ३६ रुपैयाँ, डिजेल र मटितेल ११९/११९ रुपैयाँ, खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १५ सय ७५ रुपैयाँ पर्ने किार्कीले बताए ।
मूल्य समायोजनपश्चात् निगमलाई १५ दिनमा २ अर्ब ६२ करोड नोक्सान हुने प्रक्षेपण गरिएको छ ।पेट्रोलियम पदार्थको मुल्य बढेको १२ दिनपछि पुन मुल्य बढेको हो ।