काठमाडौं, १७ कार्तिक । तिहारको दोस्रो दिन आज नेपाली सेनाले कुकुर पूजा र कला प्रदर्शन गरेको छ। सानोठिमीस्थित श्री भैरव वाहन गुल्मले कुकुरको कला प्रदर्शनसमेत गरेको छ। नेपाली सेनाले अपराध अनुसन्धान र सरक्षा कार्यमा अब्बल मानिएका कुकुरलाई १८ वर्षदेखि शान्ति मिसनमा सहभागी गराउँदै आएको छ।
कुकुरको सहयोगमा शान्ति सैनिकलाई सम्पिएको जिम्मेवारी पूरा गर्न सहज भएपछि नेपाली सेनाले द्वन्द्वरत मुलुकमा हातहतियार तथा विष्फोटक पदार्थ पत्ता लगाउन र सुरक्षा गार्डमा कुकुरको प्रयोग गर्दै आएको छ।
संयक्त राष्ट्रसंघको आह्वानमा तत्कालिन द्वन्द्वरत मुलक लाइबेरीयामा तैनाथ नेपाली शान्ति सैनिकले पहिलो पटक मिसनमा २०५९ सालमा सान र गामिनी नामक दुई कुकुर समावेस गरेको थियो। लाइबेरीया र लिबियामा खटिएका शान्ति सैनिकको सहयोगका लागि नेपालबाट हालसम्म १३ कुकुर लगि सकिएको छ। लाइबेरिया मिसनमा कुकुरको प्रयोगबाट हातहतियार र विष्फोटक पदार्थ पत्ता लगाउने कार्यमा उत्कृष्ट नतिजा हात पारेपछि सेनाले लिवियामा पनि परिचालन गरेको नेपाली सेनाले जनाएको छ।
नेपाली शान्ति सैनिकलाई लिवियामा शान्ति स्थापनार्थ अहिले रेक्स, किलो, बुजो र टोनी नाम गरेका कुकुरले सहयोग पुर्याउँदै आएका छन्। त्यहाँ खास गरी हातहतियार र विष्फोटक पदार्थ बरामद, खोजीतथा उद्धार एवं कार्यक्षेत्रको सुरक्षा अर्थात सुरक्षा गार्डमा कुकुर समावेश गरिएको छ । पछिल्लो पटक लिवियामा गत असोज १४ गते किलो नामक कुकुर पठाइएको छ भने लिवियाबाट फिर्ता भएको माईकल नामक कुकुरलाई सेनाले भैरव वाहन गुल्ममा राखिएको छ।
कला प्रदर्शन देखाउँदै कुकुर







