काठमाडौं, १४ कार्तिक । सानिमा बैंकले आफ्ना शेयरधनीलाई १७ प्रतिशतका दरले बोनस शेयर दिने प्रस्ताव पारित गरेको छ । आज सम्पन्न १७ औ साधारणसभाले हालको चुक्ता पुँजीको १७ प्रतिशतका दरले हुने एक अर्ब ६४ करोड ५८ लाख ५८ हजार २ सय ४४ रुपैयाँबराबरको बोनस शेयर वितरण गर्ने संचालक समितको प्रस्ताव स्वीकृत गरेको हो ।
बैंकको २२ गते बसेको सञ्चालक समितिको बैठकले १७ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको थियो । बैंकका अनुसार नेपाल स्टक एक्सचेन्जमा बुक क्लोजभन्दा अगाडिको दिनसम्म कारोबार भई सेयर खरिद गरी नियमानुसार उनीहरुको नाममा सेयर नामसारी भई आएका सेयरधनीले आव २०७७÷०७८ को नगद लाभांश तथा बोनस सेयर पाउन योग्य रहेका छन् ।
उक्त बोनस सेयर वितरणपछि बैंकको हालको जारी तथा चुक्ता पुँजी ९ अर्ब ६८ करोड १५ लाख १९ हजार ८२ रुपैयाँ ४० पैसालाई वृद्धि गरी ११ अर्ब ३२ करोड ७३ लाख ७७ हजार ३ सय २६ रुपैयाँ ३८ पैसा पुगेको छ ।
साधारणसभाले बोनस शेयरमा लाग्ने कर प्रयोजनार्थ चुक्ता पूँजीको ०.८९४७ प्रतिशतका दरले हुने नगद लाभांस ८ करोड ६६ लाख २४ हजार एक सय १८ रुपैया एघार पैसा दिने प्रस्ताव समेत पारित गरेको छ ।
यस्तै सानिमा बैंकले सानिमा क्यापिटल समेत गरि आर्थिक वर्ष ०७७÷०७८ मा रु दुई अर्ब ४० करोड ३१ लाख ३१ हजार खुद मुनाफा गरेको छ । यो गत आर्थिक बर्ष भन्दा ३६ प्रतिशतले बढी हो । यसैगरी समिक्षा अवधिमा बैंकको कर्जा ३१.४५ प्रतिशत र निक्षेप १८.८८ प्रतिशतले बृद्धि भएको साधारणसभामा वितरित वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
यसैबीच सानिमा बैंक तत्काल मर्जरमा नजाने भएको छ । बैंकका अध्यक्ष विनय कुमार श्रेष्ठले तत्काललाई मर्जरमा नगएर एकल नै जाने निर्णय भएको बताए ।
आज सम्पन्न साधारणसभामा शेयरधनीहरुले उठाएको प्रश्नको जवाफ दिदै अध्यक्ष श्रेष्ठले झण्डै दुई बर्षदेखि व्यावस्थापन समितिको अध्ययनपश्चात करिव दुई महिनामा तयार पारिएको प्रतिवेदनका आधारमा मर्जरमा नजाने निर्ण गरिएको जानकारी दिए ।
उनले भने, हामी मर्जरको पक्षमा नै छौ , कुनै राम्रो संस्था पाएमा मर्जरमा जान सकिन्छ तर मर्जरमा गएका कम्पनि र अहिलेको समग्र अवस्थाको अध्ययनपश्चात हतारमा निर्णय नगर्ने पक्षमा बैंक पुगेको हो । जबरजस्ति मर्जरमा जा भनेर राष्ट्र बैंकले दबाब दिदैँमा जान नसकिने पनि उनले स्पष्ट पारे ।
अध्यक्ष श्रेष्ठले प्रत्येक बर्ष १० वटा बैंकका शाखा विस्तार गर्ने निती रहेको पनि जानकारी दिए । शेयरधनीले जिज्ञासा राखेजस्तो व्यावस्थापन र सन्चालक समितिमा घोटाला भएको भन्ने गलत भएको पनि स्पष्ट पारेका थिए ।
साधारण सभामा बोल्ने केहि शेयरधनीले बैंकले सूचना चुहावट गराएर ठुला लगानीकर्तालाई फाईदा पुग्ने काम गर्दा साना शेयरधनी मर्कामा परेको भन्ने गुनासो सुनिएको भन्दै अध्यक्षसहित सन्चालक समितिसँग जिज्ञासा राखेका थिए । यस्तै बैंकका प्रमुख कार्यकारी अधिकृत भूवन कुमार दाहालले निक्षेप, कर्जा प्रवाह असुली लगायतका सबै क्षेत्रमा बैंकले राम्रो प्रगति गरेको बताए ।
बैंकले ६० करोड इन्स्योरेन्स र हाइड्रोपावरमा लगानी गरेको र यसको मुनाफा आईनसकेको जानकारी दिए ।
साधारणसभामा १५ जना शेयरधनीले आफ्नो धारणा राखेका थिए । जसमध्ये अधिकाशंसले बैंकका प्रमुख कार्यकारी अधिकृत दाहालसँग बैकको हितमा रहेको बिषयमा सहज छलफल र अन्तरक्रियाको वातावरण बनाउन माग गरेका थिए । साथै सामाजिक उत्तरदायीत्व अन्तरगत धेरै क्षेत्रमा थोरै रकम खर्च गर्ने परिपार्टीको अन्त्य गर्दै जनताले प्रत्यक्ष लाभ लिने प्रभावकारी काम गर्न सुझाव दिएका थिए । साधारणसभामा शेयरधनीहरु अमृत रेग्मी, डम्बरु बल्लभ घिमिरे, शिव प्र. पौडेल, इन्द्र कृष्ण श्रेष्ठ, अशोक उप्रेती, चन्द्र नारायण श्रेष्ठ, उत्तम प्रसाद घिमिरे, दिनेशमणि श्रेष्ठ, ब्रम्मादेव शाक्य, गुणराज भट्ट, सत्रुधन श्रेष्ठ, लभराज जोशी, दामोदर प्रसाद रेग्मी र कमल ओली लगायतले आ आफ्नो धारणा राखेका थिए ।