पाँचथर, ८ कात्तिक । पाँचथरमा बस दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने ६३ जना घाईते भएका छन् । घाईते भएकालाई उपचारको लागि अस्पतालमा लगिएका बेला उनीहरुको मृत्यु भएको हो । एक महिला र एक बालकको मृत्यु भएको हो । उनीहरुको पहिचान खुल्न सकेको छैन । घाईतेहरुको जिल्ला अस्पताल र बाँकीको समर्पित अस्पताल र पाथीभरा अस्पतालमा उपचार भइरहेको छ ।
पाँचथरको फिदिम नगरपालिका–४ शिवादोभानबाट झापाका लागि छुटेको को १ ख ३८६५ नम्बरको बस फिदिम नगरपालिका–४ शान्तिपुरमा दिउँसो करीब ११ः३० बजे सडकबाट झरेर दुर्घटनामा परेको हो ।
अर्को सवारीको साधनलाई उछिन्ने क्रममा सडकको डिलबाट बस अगाडि बढ्दा सडकबाट करिब २० मिटर तल झरेको हो । दुर्घटनामा बसमा सवार सबै यात्रुहरू घाइते भएका छन् ।
दसैँमा घर तथा आफन्तकहाँ पुगी फर्कँदै गरेको जिल्लाको कुम्मायक, तुम्बेवा र फाल्गुनन्द गाउँपालिकाका सर्वसाधारण दुर्घटनामा परेका हुन् ।कुम्मायकको यासोक बजारलाई फिदिमसम्म जोड्ने निवुखोलास्थित पुलको भाग भत्केपछि यात्रुहरू ट्याक्सीबाट खोलासम्म आई बस चढेका थिए । दुई किलोमिटर दूरी पार नहुँदा बस दुर्घटनामा परेको हो ।