पानीले लुम्बिनीमा मात्रै साढे चार अर्ब बराबरको धानखेती नष्ट

पानीले लुम्बिनीमा मात्रै साढे चार अर्ब बराबरको धानखेती नष्ट

  • शुक्रबार, कार्तिक ५, २०७८
  • मिर्मिरे अनलाइन

  • 12.9K
    SHARES

बुटवल, ५ कात्तिक । चार दिनसम्म लगातार परेको वर्षाले काटेर राखेको धानबाली नष्ट गरेपछि रुपन्देही मर्चवारका किसान रामअवतार यादव परिवार कसरी पाल्ने भन्ने चिन्तामा छन् । झन्डै पाँच बिघामा लगाएको धानबाली भित्र्याउने तयारी गर्दैगर्दा वर्षाले सखाप पारिदियो । अधिकांश काटिसकेको धान नष्ट भएपछि उनमा वर्षभरिको हातमुख जोर्ने चिन्ता थपिएको छ । ‘सरकारले राहत दिने भन्ने सुनेको छु, तर खै विश्वास लागेको छैन,’ उनले दुःखेसो पोखे ।

बुटवल उपमहानगरपालिका(१५ रानीगन्जका किसान जितबहादुर रानाको पनि अवस्था पनि उस्तै छ । उनले एक बिघा १० कट्ठामा लगाएको धानबालीमा वर्षाले नोक्सान पुर्‍यायो । ‘यस वर्ष धानमा राम्रो बाला लागेको थियो, विगतमा भन्दा उत्पादन बढ्ने अनुमान थियो, तर सबै पसिना खेर गयो,’ रानाले भने । उनलाई पनि राहत पाइने कुराको विश्वास लागेको छैन ।

२० बिघा क्षेत्रफलमा धानखेती गरेका रुपन्देहीको सैनामैना नगरपालिका(१ का किसान दशरथ यादवले आफ्नो अधिकांश धानबाली पानीले नष्ट गरेको सुनाए । लुम्बिनी प्रदेशका अधिकांश जिल्लाका किसानको धानखेती वर्षाले नष्ट गरेपछि धेरैजसो किसान यतिबेला पीडामा छन् ।

लुम्बिनी प्रदेशको कृषि खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयका अनुसार पहिलो चरणमा प्रदेशका सबै जिल्लाहरूको प्रारम्भिक क्षतिको विवरण लिने कार्य सम्पन्न भएको छ । पहिलो चरणमा संकलन गरिएको विवरणअनुसार लुम्बिनी प्रदेशमा चार अर्ब ५१ करोड ४२ लाख ५४ हजार ८० रुपैयाँ बराबरको क्षति भएको मन्त्रालयका निमित्त सचिव तुलसीराम भण्डारीले बताए ।

लुम्बिनी प्रदेशमा कुल तीन लाख १७ हजार चार सय १४ मेट्रिक टन धानमा क्षति पुगेको मन्त्रालयको तथ्यांक छ । मन्त्रालयका निमित्त सचिव भण्डारीले वर्षाले पुर्‍याएको क्षतिको विषयमा प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीमार्फत प्रधानमन्त्रीसमक्षसमेत जानकारी गराइएको बताए । ‘प्रदेशमा भएको क्षतिको विषयमा हामीले मुख्यमन्त्रीमार्फत प्रधानमन्त्रीलाई समेत जानकारी गराएका छौं,’ उनले भने । राहतको विषयमा भने प्रदेश मन्त्रिपरिषद्ले ठोस निर्णय गरेको छैन ।

प्रदेशको खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयका अनुसार वर्षाले सबैभन्दा बढी क्षति रुपन्देहीमा पु¥याएको छ । मन्त्रालयको तथ्यांकअनुसार रुपन्देहीमा ६७ हजार पाँच सय ५० हेक्टर क्षेत्रफलमा लगाइएको धानमा बाढीको कारण क्षति पुगेको छ ।

कपिलवस्तुमा ६४ हजार ३५०, बर्दियामा ४९ हजार ६ सय ३८, दाङमा ३७ हजार नौ सय ३६, बाँकेमा ३५ हजार ६ सय २५ हेक्टर क्षेत्रफलमा लगाइएको धानमा पूर्णरूपमा बाढीले क्षति पुर्‍याएको छ ।

नवलपरासीमा २२ हजार सात सय १२, गुल्मीमा १० हजार दुई सय ४६, पाल्पामा आठ हजार नौ सय १०, अर्घाखाँचीमा आठ हजार तीन सय चार, प्युठानमा ६ हजार १४, रोल्पामा चार हजार सात सय ९२, रुकुममा दुई हजार ५८ हेक्टर क्षेत्रफलमा बेमौसमी बर्षाले धान बालीमा क्षति पुर्‍याएको छ ।

किसानले ३६ हजार ४ सय ८० हेक्टर खेतमा काटिसकेको धानमध्ये २३ हजार सात सय १२ हेक्टर अर्थात् ६५ प्रतिशत क्षति पुगेको मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी