इलाम कार्तिक ३ । लगातारको बर्षाका कारण आएको पहिरोमा परी इलाममा १२ जनाको ज्यान गएको छ । पहिरोले पुरिँदा फाकफोकथुम गाउँपालिकामा एकै परिवारका ४ सहित ५ जनाको ज्यान गएको छ ।
फाकफोकथुम–३ आम्चोकमा एकै परिवारका ४ जनाको पहिरोले पुरेर ज्यान गएको छ ।
घरमाथिको ढिस्को खस्दा ८६ वर्षीय नैनसिंह कटुवाल, ८० वर्षीय रनदत्ता थापा, १६ वर्षीय निशान कटुवाल र १३ वर्षीय निश्चत कटुवालको ज्यान गएको हो । ३ जनाको शव निकालिसकिएको र नैनसिंहको शव निकाल्ने काम भइरहेको लामिछानेले जानकारी दिए ।
२ तले घरको भुईंतलामा सुतेका उनीहरुलाई पहिरोले पुरेको थियो । माथिल्लो तलामा सुतेका समीक्षा र गोमा कुटुवाल भने बच्न सफल भएका छन् । त्यस्तै सूर्योदय नगरपालिकामा ३, माई नगरपालिकामा १ र माङसेवुङ गाउँपालिकामा २ जनाको ज्यान गएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । इलाममा ३ जना बेपत्ता रहेका छन् । पहिरोका कारण दर्जनभन्दा धेरै घर परिवार विस्थापित भएका छन् ।
उता पाँचथरमा पनि पहिरोले पुरिएर सात जनाको मृत्यु भएको छ ।
जिल्लाको फिदिम–४ की २५ वर्षीया ममता मगर र उनका ४ वर्षीय छोराको घरमाथिबाट आएको पहिरोमा पुरिएर मृत्यु भएको हो ।
त्यस्तै कुम्मायक गाउँपालिका–२ माङ्जावुङकी ४० वर्षीया डम्बरकुमारी शेर्मा, मिक्लाजुङ–४ का ६५ वर्षीय धनबहादुर लावती, फाल्गुनन्द गाउँपालिकाका २८ वर्षीय फुर्वा तामाङको पहिरोले पुरिएर मृत्यु भएको पाँचथरका प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले जानकारी दिए । यस्तै मिक्लाजुङ–५ र फाल्गुनन्द ४मा एक–एक जनाको मृत्यु भएको छ । । मिक्लाजुङ–४ र फाल्गुनन्द–१ एक गरी दुई जना बेपत्ता छन् ।