पश्चिम सेतीः दर्जनौँपटक अनुगमन भयो, बन्ने छाँटकाँट देखिएन

पश्चिम सेतीः दर्जनौँपटक अनुगमन भयो, बन्ने छाँटकाँट देखिएन

  • मङ्लबार, अशोज १९, २०७८
  • विमलबहादुर विष्ट

  • 5.4K
    SHARES

डोटी, १९ असोज  । सुदूरपश्चिम प्रदेशको गौरवको आयोजना पश्चिम सेती परियोजना निर्माणमा अझै अन्योलता कायमै छ ।

पश्चिम सेती निर्माणका लागि सरकारी क्षेत्रबाट विभिन्न अनुगमन तथा सुपरीवेक्षण गरिए पनि उक्त परियोजना बन्ने कुनै छाँटकाँट नदेखिएपछि यहाँका नागरिक अन्योलमा परेका हुन् । पश्चिम सेती निर्माणका सम्बन्धमा आयोजनास्थल अनुगमन तथा सुरपरीवेक्षणका लागि यही असोज २ गते राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलको नेतृत्वमा लगानी बोर्डका प्रमुख सुशील भट्ट, ऊर्जा सचिव देवेन्द्र कार्कीलगायत प्राविधिकसहितको सरकारी टोली आएको थियो ।

उक्त सरकारी टोलीले हालसम्म पनि पश्चिम सेती आयोजना बन्ने÷नबन्ने विषयमा अहिलेसम्म खासै आधिकारिक धारणा नदिएका कारण यहाँका नागरिकमा पश्चिम सेती बन्ने विषयमा आशङ्का पैदा भएको नेकपा (समाजवादी)का जिल्ला अध्यक्ष दीर्घराज बोगटीले बताउनुभयो । उहाँले भन्नुभयो, “पश्चिम सेती निर्माणका लागि भन्दै दर्जनौँ पटक अनुगमन भइसके पनि बन्ने कुनै सुरसार छैन, सरकारी क्षेत्रबाट पश्चिम सेती बनाउने विषयमा चासो नै भएन ।”

जिल्लाको आदर्श गाउँपालिकाको तलारा र बैतडी जिल्लाको ढुङ्गाड क्षेत्रमा निर्माण हुने भनिएको सुदूरपश्चिमकै ठूलो जयाशययुक्त पश्चिम सेती जलविद्युत् आयोजना निर्माणमा वर्षौदेखि अन्योलता कायमै छ । कहिले कुनै देशले त कहिले कुनै संस्थाले निर्माण गर्ने भनिए पनि हालसम्म निर्माणको टुङ्गो नलाग्दा स्थानीयवासीमा अन्योलता बढेको आदर्श गाउँपालिकाका स्थानीय टेकबहादुर रोकायाले बताउनुभयो । उहाँले भन्नुभयो, “पश्चिम सेती बन्छ भनेर हामीलाई खाली सपनामात्रै देखाए, कसले बनाउने टुङ्गो नै लागेको छैन, नेताको मागी खाने भाँडो भयो पश्चिम सेती ।” निर्माणकार्य कसले गर्ने भन्ने ठोस निर्णय नहुँदा यो आयोजना ‘एकादेशको कथा’ बन्न सक्ने भन्दै यहाँका स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन् ।

सुदूरपश्चिमको आर्थिक विकासको मेरुदण्डका रूपमा लिइएको ७५० मेगावाट क्षमताको उक्त पश्चिम सेती जलविद्युत् आयोजनामा राज्यबाट ठोस पहल नभएको भन्दै स्थानीयवासीले गुनासोसमेत गरेका छन् । यो आयोजना बने लोडसेडिङको मार खेपिरहेका जनतालाई अधिकतम लाभ र राहत दिनेमात्र होइन, वर्षौँदेखि पिछडिएका, राज्यको मूलधारबाट समेत उपेक्षित जनतालाई लाभ पुग्ने दिपायल सिलगढी नगरपालिकाका नगर उपप्रमुख तथा नेकपा समाजवादीका नेता शिवराज खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “परियोजना बन्ने हल्ला चलेको तीन दशक भइसकेको छ, दर्जनौँ अनुगमनसमेत भए, अहिलेसम्म केही काम भएको छैन, खै कहिले बन्ला, सपनामै रहने भो पश्चिमसेती ।”

पश्चिम सेती बन्ने हल्ला सुरु भएको समयमा जन्मेका मानिसलाई केही वर्षमै बुढ्यौली उमेरले छुँदैछ तर पश्चिम सेती बन्ने हल्ला हल्लामै मात्र सीमित रहेको शिखर नगरपालिका–१० का स्थानीय लोकबहादुर बलायरले बताउनुभयो । उहाँले भन्नुभयो, “पश्चिम सेतीका नाममा धेरै राजनीति भयो, अब राजनीति गर्न छाडाँै, कि पश्चिम सेती बनाउ, या त कुरै गर्न छोड्नुपर्छ ।” पश्चिम सेती निर्माणका लागि उचित र उपयुक्त वातावरण सिर्जना गरी राजनीतिक नाफाघाटा नहेरी विवादरहित ढङ्गले काम सुरु गर्नुपर्ने स्थानीयवासीको माग छ । केही वर्षपहिले पश्चिम सेती बन्ने हल्लापछि ड्यामसाइड तथा प्रभावित हुने क्षेत्रमा सरकारी राहत पाउने आशामा जग्गाको कारोबार अधिक बढेको भए पनि पश्चिमसेती नबन्ने भएपछि अहिले जग्गाको कारोबारमा समेत गिरावट आएको स्थानीयवासी बताउँछन् ।

पश्चिमसेती नबन्ने छाँटकाँट देखिएपछि यहाँका स्थानीयवासी पछिल्लो समय निकै निराश भएका छन् । उता नेपाल सरकारले आफ्नै लगानीमा उक्त जलाशययुक्त पश्चिम सेती निर्माण गर्ने दाबी गरे पनि यहाँका स्थानीयवासीमा सरकारले निर्माण गर्नेमा कुनै विश्वास नभएको आदर्श गाउँपालिकाका स्थानीय तथा नेविसङ्घका नेता गोविन्द खड्काले बताउनुभयो ।

जलाशययुक्त पश्चिम सेती निर्माण गर्न चिनिया कम्पिनी ‘थ्री’ गर्जेज तलारा आएर विभिन्न संरचना निर्माण गर्दा पश्चिम सेती बन्छ भनेर खुसी र ढुक्क भएका यहाँका स्थानीयवासी ‘थ्री’ गर्जेजले पश्चिम सेती नबनाउने भन्दै दुई वर्ष पहिले आफ्ना उपकरण लगेर गएसँगै नागरिक निराश बनेका हुन् । पश्चिम सेती जलविद्युत् आयोजनाका नाममा वर्षेनी डोटीलगायत समग्र सुदूरपश्चिममा राजनीति हुन थालेको भन्दै यहाँका स्थानीयवासी नेताहरूप्रति आक्रोशित हुन थालेका छन् । स्थानीयवासी भन्छन्, “सक्छौँ पश्चिम सेती बनाउ, नसक्ने भए पश्चिम सेतीमा राजनीति नगर ?”

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ