३८ क्विन्टल सुन तस्करी मुद्दा: आजदेखि प्रतिवादीतर्फका कानुन व्यवसायीले बहस गर्ने

३८ क्विन्टल सुन तस्करी मुद्दा: आजदेखि प्रतिवादीतर्फका कानुन व्यवसायीले बहस गर्ने

  • मङ्लबार, अशोज १२, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

विराटनगर, १२ असोज । मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणको अनुसन्धान गर्ने क्रममा खुलेको लगभग ३८ क्विन्टल सुन तस्करी सम्बन्धी मुद्दाको आजदेखि प्रतिवादीतर्फका कानुन व्यवसायीले लगातार बहस गर्ने छन्।

फैसलाको चरणमा रहेर जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासमा भइरहेको सुनुवाइमा प्रतिरक्षा बहसका लागि ८० जनाभन्दा बढी कानुन व्यवसायीले वकालातनामा दर्ता गराएको अदालतका सूचना अधिकारी राजेन्द्रप्रसाद धमलाले बताए।

उनका अनुसार गत आइतबारबाट मुद्दाको सुनुवाइ सुरु भएको हो। आइतबार र सोमबार वादी नेपाल सरकारका तर्फबाट सरकारी वकिलहरुले बहस गरे। सरकारका तर्फबाट उच्च सरकारी वकिल कार्यालय विराटनगरका सहन्यायाधीवक्ता ज्ञानप्रसाद भुसाल, सरकारी वकिल कार्यालय मोरङका जिल्ला न्यायाधीवक्ता रामहरि शर्मा काफ्लेले र मोरङका सहायक जिल्ला न्यायाधीवक्ता मनिषबाबू पोखरेलले बहस गरेका हुन्।

उनीहरुले मुद्दामा प्रतिवादी बनाइएकालाई विगोबमोजिम जरिवाना र कैद सजायको मागदाबी गरेका छन्। सरकारी वकिलको बहस सकिएपछि सोमबार प्रतिवादीमध्येका पूर्वडीआईजी गोविन्दप्रसाद निरौलाको पक्षमा अधिवक्ता भानुभक्त निरौलाले बहस गरेका थिए। उनले सुन तस्करी र सनम हत्यामा संलग्न नभएको दाबी गर्दै पूर्वडीआईजी निरौलालाई सफाइ दिनुपर्ने जिकिर गरेका छन्।

सूचना अधिकारी धमलाका अनुसार प्रतिवादीका कानुन व्यवसायीको बहस नसकिएसम्म मुद्दाको सुनुवाइ जारी रहने छ। प्रतिवादी पक्षको बहस सकिएपछि उनीहरुले उठाएका विषयलाई लिएर सरकारी वकिलले प्रतिवाद बहस गर्नेछन् ।
सरकारी वकिलको प्रतिवाद बहसपछि भने अदालतले बहुचर्चित यो मुद्दाको फैसला गर्ने छ ।
उच्च प्रहरी अधिकारीसहित ७७ जना प्रतिवादी रहेको यस मुद्दामा उनीहरुका कानुन व्यवसायीलाई बहस सक्न केही दिन समय लाग्नसक्ने देखिएको छ । मुद्दामा मुख्य अभियुक्त मोरङ उर्लाबारीका गोरे भनिने चूडामणि उप्रेतीलाई बनाइएको छ।

तस्करी गरेर दुवईबाट ल्याएको सुन गायब बनाएको आरोपमा गोरेको समूहले करेन्ट लगाएर यातना दिँदा २०७४ साल फागुन १८ गते उर्लाबारी नगरपालिका–१ मा सनम शाक्यको मृत्यु भएको थियो। गोरेकै ‘सेटिङ’मा र व्यापारीको लगानीमा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै दुवई लगायतका देशबाट नेपालतिर सुन तस्करी हुने गरेको अनुसन्धानबाट पत्ता लागेको छ। सन् २०१५ जुलाईदेखि २०१६ अगस्टसम्ममा लगभग ३८ क्वीन्टल सुन तस्करी गरेर नेपाल ल्याइएको अनुसन्धानबाट खुलेपछि त्यही बराबरको बिगो मागदाबीसहितको मुद्दा अदालतमा दर्ता गरिएको थियो।

जिल्ला अदालत मोरङमा ‘आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान’ गरेर चारवटा शीर्षकमा सरकारी वकिल कार्यालय मोरङले २०७५ वैशाख १९ गते मुद्दा दायर गरेको हो। मुद्दामा १७ अर्ब एक करोड ८० लाख ७१ हजार चार सय रूपैयाँ बराबरको ३७ लाख ९९ हजार पाँच सय ६३ ग्राम (करिब ३८ क्वीन्टल) सुन अवैध रुपमा आयात गरिएको दाबी गरिएको छ।
सुरुमा ६३ जना प्रतिवादी रहेको मुद्दामा तीन पटकसम्म पूरक अभियोग दर्ता गर्दा प्रतिवादी संख्या ७७ पुगेको हो। प्रतिवादीमध्ये ५५ जना पक्राउ परिसकेका छन् भने २२ जना अझैसम्म फरार रहेको सूचना अधिकारी धमलाले जानकारी दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ