१० असोज, विराटनगर । उच्च अदालत विराटनगरको गेटमै दिनदहाडै युवा व्यवसायी कलामसिंह लामामाथि खुकुरी प्रहार भएको छ। काभ्रे घर भइ भक्तपुरको सूर्यविनायक नगरपालिका ८ मा बस्दै आएका ३२ वर्षीय लामामाथि आज मध्यान्ह १२ बजेतिर खुकुरी हानिएको हो। उनी आज बिहान मात्रै विराटनगर पुगेका हुन् । खुकुरी प्रहार गरिएका उनको विराटनगरस्थित विराट नर्सिङ होममा उपचार भईरहेको छ ।
लामाको मोरङको कटहरी गाउँपालिका ६ मा रहेको मोरङ राजधानी इँटा उद्योगमा लगानी छ।
विराटनगरस्थित वरिष्ठ अधिवक्ता सुरेशलाल श्रेष्ठको ल फर्मबाट निस्किएर उच्च अदालतको गेट अगाडि पुगेपछि लामामाथि खुकुरी प्रहार भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए ।
खुकुरी प्रहारबाट लामाको हात, पेट लगायत शरीरका विभिन्न भागमा चोट लागेको छ। उनको अवस्था खतरामुक्त रहेका श्रेष्ठले बताए।
इँटा उद्योगसँग सम्बन्धित कामले विराटनगर आएका बेला पुरानो विवादलाई लिएर लामामाथि खुकुरी प्रहार भएको अनुमान प्रहरीको अनुमान छ ।
लामामाथि खुकुरी हान्ने विराटनगर महानगरपालिका ११ का २७ वर्षीय विमल कार्कीलाई प्रहरीले पक्राउ गरेको छ। घटनामा प्रयोग भएको खुकुरीसहित भाग्दै गर्दा कार्कीलाई विराटनगरको कोसी अस्पतालनजिकबाट पक्राउ गरिएको डीएसपी श्रेष्ठले बताए। उनका अनुसार घटनामा संलग्न भनिएका अर्का एक युवा फरार छन्।उनको पनि खोजी भईरहेको श्रेष्ठले बताए ।