नेपाली काँग्रेसको स्थानीय तहमा जारी अधिवेशनका क्रममा विभिन्न स्थानमा लफडा निम्तिएको छ । सभापति शेरबहादुर देउवा पक्षले षडयन्त्रपूर्वक ढंगले हराउन खोजेको आरोप लगाउदै जिल्लाको मत पत्र पौडेल पक्षका कार्यकर्ताले जलाएका छन् ।
लमजुङको राइनास नगर कार्यसमितिको अधिवेशनमा निर्वाचन प्रक्रिया स्थगित गरेर मतपत्र जलाएको कांग्रेस लमजुङले जनाएको छ।
जिल्लाका नेताहरुले मतदान गर्न गएको अधिवेशनमै अलोकतान्त्रिक हर्कत भएको स्थानीय कार्यकर्ताले बताएका छन्। दिनभर लाइन बसेर मतदान गरेका मतदातासमेत आफ्नो मत रद्द भएको भन्दै आक्रोशित बन्दै मतपत्र जलाएर नाराबाजी गरेका थिए ।
अधिवेशनमा मतपत्रमार्फत धाँधली गरेको र हराउन षडयन्त्र गरेको भन्दै पौडेल पक्षका सभापतिका उम्मेदवार श्रीकृष्ण पौडेल पक्षले मतपत्र जलाएका हुन्।
मतपत्रमा सभापतिका उम्मेदवार पौडेललाई मत दिन आवश्यक कोष्ठ नभएको र क्रम संख्या २ हुनुपर्नेमा १ भएको कारण मतपत्र जलाएको उम्मेदवार पौडेलले बताए।
‘राइनास नगर कार्यसमितिका लागि सभापति उम्मेदवार पौडेल र कडरिया प्यानल बनाएर निर्वाचन लडेका थिए । सभापति उम्मेदवार पौडेलले मतपत्रमा अल्फाबेटअनुसार आफ्नो नाम १ नम्बरमा हुनुपर्ने ठाउँमा दोस्रो स्थानमा राखिदिएको बताए।