पर्सा ६ असोज । बीरगन्ज महानगरपालिका वडा नं. ९ रानीघाट स्थित बसोबास गर्दै आएका एक परिवारको घर एकाएक केही युवाहरुको भीडले हतौडा हानी भत्काइयो । विगत चार पुस्तादेखि भोगचलन गर्दै आएका रघुनी साह तुरहाका परिवारको घरलाई वीरगन्ज महानगरपालिकाले प्रशासनको आडमा एकाएक घर भत्काएपछि ति परिवारमा रहेका २२ जना सदस्यहरु विचल्लीमा परे । उच्च अदालत र सर्वोच्च अदालतमा विचाराधीन मुद्दा रहेको अवस्थामा पार्टी र पैसाको आडमा घर भत्काइयो ।
बीरगन्ज महानगरपालिका वडा नं. ९ रानीघाटमा काठमाण्डौं निवासी राणा परिवारको नाममा रहेको किता नंं. १२८ र ३५ (हाल कि.नं. ८६) को १९ धुर जग्गा दान बक्सिसमा आफ्ना पुर्खा रघुनी साह तुरहा, दरोगा साह तुरहालाई प्राप्त जग्गालाई हाल आएर स्थानीय मधु देवीको नाममा लालपुर्जा बनाएर जग्गा खाली गराएको रघुनी साह तुरहाका चौथो पुस्ताका जेठा छोरा राजेन्द्र साह तुरहाले बताउँछ । न्यायका लागि जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिदा प्रहरीले पीडितको जाहेरी लिन मानेन ।
त्यसमा पनि उल्टै जग्गा किनेकी मधु देवीका देवर प्रमोद गुप्ताले आफ्नो जग्गा खाली नगरेको भन्दै पुनः जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिए । र छलफलको लागि भनेर मंगलबार जिल्ला प्रहरी कार्यालयमा बोलाएर पीडित परिवारका ३ जना महिला र एक जना पुरुषलाई थुनामा राखिदिए । वडाध्यक्ष लगायत जनप्रतिनिधिहरुको रोहबरमा घर भत्काइएपनि अहिले उक्त घर कसको निर्देशनमा भत्काइयो भनेर स्पष्ट जवाफ आउन सकि रहेको छैन । जग्गाधनीका देवर प्रमोद गुप्ताले महानगरपालिकाले भत्काएको भन्छन् भने महानगरपालिकाको न्यायिक समितिकी प्रमुख उपमेयर सुश्री शान्ति कार्कीले त्यो विषयमा आफूले कुरा पन गर्न नचाहेको भन्दै पञ्छिइन् ।
यति हुँदाहुँदै जग्गाधनीका देवर प्रमोद गुप्ताले बुधबार विहान पत्रकार सम्मेलनको आयोजना गरे । आफूहरुले किनेको जग्गा हकभोग गर्नमा समस्या भएको र घर भत्काइएको परिवारले आफूहरुलाई अनावश्यक दुःख दिएको भन्दै पत्रकार सम्मेलन गरे । प्रहरी प्रशासनदेखि स्थानीय जनप्रतिनिध समेत उनको पक्षमा नै काम गरि रहेको अवस्थामा गुप्ताले पत्रकार सम्मेलन गरेर पीडित परिवारमाथि नै झन आरोप थुपारि रहेका छन् । मुलुकमा अहिले जग्गा किनबेचमा दलालहरुको विगविगि बढेको अवस्थामा विगत ४० वर्षभन्दा अघिदेखि बसोबास गर्दै आएको जग्गा गुप्ताले किनेर जबरजस्ती विवाद सृजना गरेका छन् र अहिले गरिब परिवारलाई घर विहीन बनाएर विभिन्न आरोप प्रत्यारोप लगाई रहेका छन् ।
काठमाण्डौ निवासीं हेमन्त शमशेर राणा, कनक शमशेर राणा, रुकुम शमशेर राणा र हटक शमशेर राणाको नाममा रहेको उक्त जग्गा उनीहरुको आमाबुबाले सेवासत्कार, जग्गा जमिनको रेखदेख तथा खेतीपाती गरे बापत तत्कालीन समयमा बाजे बजैलाई दिएर कहिले पनि खाली नगराउने बाचा सहित २०२१ सालमा बाजे रघुनी साह तुरहा र २०४८ सालमा बुवा दरोगा साह तुरहाको नाममा फिल्डबुकमा नाम दर्ता समेत गराएको छोरा राजेन्द्र साह तुरहाले बताउँछन् । फिल्ड बुकमा अहिलेपनि बुवा र बाजेको बुवाको नाम रहेको पीडित राजेन्द्र साह तुरहाकी श्रीमती चन्द्रकाली देवीले बताउँछिन् ।
हाल आएर आफ्नो परिवारलाई कुनै जानकारी विना दलालहरुको चलखेलमा स्थानीय मधु देवीको नाममा खरिद विक्री गराई लालपुर्जा तयार पारी पैसा एवं पार्टीको आडमा जबरजस्ती घर भत्काइएको पीडित परिवारको आरोप छ । घर भत्काएसँगै परिवारका सदस्यहरु अहिले सडकमा खुल्ला आकाशमुनि जीवन विताई रहेका छन् । उक्त परिवारका साना साना बालबालिकाहरुलाई सडकमै खाने र सुत्ने गरेका छन् । आफूले पालेको घरपालुवा जनावरलाई पनि खुल्ला आकाशमुनि राख्नुपर्ने अवस्था पीडित राजेन्द्र साह तुरहाको गुनासो छ ।
जग्गाको विषयलाई लिएर पटक–पटक स्थानीय स्तरमा छलफल भएपनि विवाद टुँगो लाग्न सकेको थिएन । स्थानीय स्तरमा भएको विवादलाई स्थानीय स्तरमै मिलाउनुपर्छ भन्ने उद्देश्यले तुरहा परिवारलाई उचित व्यवस्थापनको लागि जग्गा किनेका कलवारिन्ले केही पैसा पनि दिने सहमति पनि भएको थियो तर तुरहाले आफ्नो पुर्खयौली जग्गा रहेको कारण आफूहरुले जग्गा नछाड्ने, कानूनी प्रक्रियाबाट लड्ने अठोट राखेको कारण अहिले जग्गाधनी कलवारिन्का श्रीमान् र देवरको पैसा र पार्टीको पावरले तुरहालाई घरविहीन बनाई दिएको छ । मधु देवीका श्रीमान् जवाहरलाल गुप्ता तथा देवर प्रमोद गुप्ता लगायतकाले न्यायिक समितिले गरेको निर्णय, अदालतले पठाएको चिठीहरु सबै लुकाएर तथा आफुहरुलाई जानकारी र नोटिस बिना जग्गा खाली गराउन आएको तुरहा परिवारले आरोप लगाएको छ ।
जग्गा खरिद बिक्री हुने बेलामा पनि उनका श्रीमान् जवाहिरलाल साहले आफुहरुलाई जानकारी नै नदिई आफ्नो श्रीमतीको नाम पास गराएको तुरहा परिवारको आरोप छ । जिल्ला अदालतले तुरहा परिवारकै पक्षमा निर्णय गरेको भएपनि सर्वोच्च अदालतमा माग भएको परमादेश खारेज भएको तथा बीरगन्ज महानगरपालिकाका न्यायिक समितिले पनि जग्गा खाली गराउने निर्णय दिएपछि गुप्ता परिवार जग्गा खाली गराएका हुन् । तुरहा परिवारका अनुसार हाल सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको र असोज ६ गते ९आज० तारेख रहेको बताउँदंै त्यसको अगावै पार्टीका कार्यकर्ता, गुण्डा र स्थानीय प्रहरी लगाएर घर तोडी जग्गा खाली गराइएको पीडित राजेन्द्र साह तुरहाको आरोप छ ।
यसबारे वीरगन्ज महानगरपालिका वडा नं। ९ का वडाध्यक्ष मनोज प्रसाद कलवारका अनुसार जग्गा खाली गराउनका लागि घर तोडफोड गरिएकोबारे आफू अनभिज्ञ रहेको बताए । उनले विगत लामो समयदेखि उक्त जग्गाको विवाद चल्दै आएकोमा कति पटक स्थानीय स्तरमा बसेर सुल्झाउने प्रयास गरिएको थियो तर त्यो सफल हुन सकेको थिएन तर हाल आएर महानगरपालिकाले आफूलाई जानकारी नै नभई आफ्नै वडामा रहेको विवादित घर कसरी भत्कायो भनेर आफूलाई जानकारी नरहेकोले यसबारे विस्तृत तथ्यगत बुझ्ने बताए ।