साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक सामान्य रुपमा बढेर बन्द भएको छ। शुरुमा उकालो लागेको बजार मध्यान्हपछि फेरी घटेर अन्तिममा ०.२७ अंकले बढेर बन्द भयो ।
सोमबार नेप्से परिसूचक २९४७.६९ विन्दुमा पुगेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ०.५५ अंक, फ्लोट इण्डेक्स ०.२५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४९ अंक बढेको छ।
अघिल्लो दिन ९ अर्ब ४४ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २२६ कम्पनीको ९३ हजार २१८ पटकको कारोबारमा ९ अर्ब २९ करोड ५ लाख ५४ हजार रुपैयाँ बराबरको १ करोड ५६ लाख ८१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन तीन कम्पनीको शेयरमूल्य १० प्रतिशत बढेको छ। कारोबारमा आएको अजोड इन्स्योरेन्स, मनकामना स्मार्ट लघुवित्त र सानिमा लाइफ इन्स्योरेन्सको शेयरमूल्य १० प्रतिशत बढेको हो। त्यसैगरी, युनाइटेड इदी मार्दी र एनआरएन इन्फ्रास्ट्रक्चरको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ।
यस दिन १३ उपसमूहमध्ये ७ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ६ उपसमूहको परिसूचक घटेको छ। यस दिन निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १.४८ प्रतिशत बढेको छ।
जलविद्युत उपसमूहको परिसूचक भने यस दिन सर्वाधिक २.५४ प्रतिशत घटेको छ। त्यसैगरी, उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १.३५ प्रतिशत घटेको छ।