कटारी । उदयपुरको कटारी नगरपालिकाको पहिचान झल्काउने सिमसार क्षेत्र औपचारिक रुपमा उद्घाटन भएको छ । विगतमा व्यापारीक क्षेत्रको रुपमा मात्र चिनिने कटारी अब आन्तरीक तथा बाह्य पर्यटक भित्र्याउने माध्यम समेत बन्ने देखिएको छ ।
कटारी नगरपालिकाको आर्थिक तथा प्राबिधिक सहायतामा निर्मित सिसाघारी सिमसार तथा पर्यापर्यटन क्षेत्रको आइतबार मेयर ज्ञानेन्द्र श्रेष्ठनले उद्घाटन गरेका हुन् । सो उद्घाटनका अवसरमा मेयर श्रेष्ठले कटारी नगरपालिका ५ का वडाबासीको मेहेनतको कदर गर्दै सहयोगका लागि नगरपालिकाको तर्फबाट धन्यवाद ज्ञापन गरे । सो सिमसार क्षेत्रलाई कटारीको मात्रै नभई प्रदेश एक कै चिनारीको रुपमा विकास गर्ने पनि मेयर श्रेष्ठले प्रतिवद्धता जनाए ।
त्यस्तै नगर उप प्रमुख भिम कुमारी राउतले जनताको इच्छाशक्तिले सो क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सफल भएको बताईन् ।
२०७५ मा सहयोगी हातहरूको समूह साहस नेपाल कटारीबाट सिमसारको संरक्षण तथा पर्यपर्यटन क्षेत्र बनाउन पहल गरिएको थियो ।
गत आर्थिक वर्षमा प्रदेशबाट २५ लाख र कटारी नगरपालिकाबाट २५ लाख विनियोजन गरिए सँगै उक्त रकम मन्दिर निर्माण साथै घेराबेरा, चिल्ड्रेनपार्क, पिकनिक स्पट, टिकट काउण्टर र पार्किङ्ग निमार्णको काम भएको थियो ।
करिब २.१ हेक्टर क्षेत्रफलमा फैलिएको उक्त सिमसार क्षेत्रमा २० फिट गहिराई पानी रहेको छ । वरिपरी मनमोहक दृश्य हेर्न र वोटिङ्ग गर्नको लागि दैनिकी १ सय ५० भन्दा बढी पर्यटकहरु आउने गरेका छन् । डुंगामा चढेर एक पटक घुम्नको लागि करिब ४० मिनेट लाग्छ । डुंगा चढ्न प्रतिब्यक्ति रु ५० लाग्छ ।
कटारी बजारबाट ३ किलोमिटर दुरीमा उक्त क्षेत्र रहेको छ । २०७५ साल देखि पर्यटकीय स्थलको रुपमा बिकास भएको यस सिमसार क्षेत्र सिसाघारी सामुदायिक वन को भूमि थियो २०७६ सालमा सिसाघारी सामुदायिक वन कार्यालयबाट स्वीकृत लिएर सिसाघारी सिमसार संरक्षण तथा पर्या पर्यटन बिकास क्षेत्र नामाकरण गरी ७ जनाको निर्माण समिति गठन गरिएको थियो ।