काठमाडौं, १८ भदौ । राष्ट्रिय समावेशी आयोगले हिन्दु नेपाली महिलाहरुको विशेष पर्व तीजको अवसर पारेर समावेशी तीज कार्यक्रम गरेको छ । नेपाली समाजको विशिष्टता तीज पर्वमा समावेशीता भन्ने नाराका साथ शुक्रवार तीज कार्यक्रम सम्पन्न गरेको हो । गृहिणी महिला संघ नेपालको व्यवस्थापनमा भएको समावेशी तिज कार्यक्रममा आयोगका सदस्य विष्णुमाया ओझाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
आयोगका अध्यक्ष डा. रामकृष्ण तिमिल्सिनाको प्रमुख आथित्यतामा भएको कार्यक्रममा राष्ट्रिय सभाका सदस्य विमला राई पौडेल, राष्ट्रिय मानव अधिकार आयोगका सदस्य लिलि थापालष्गायतको उपस्थिती थियो ।
सो अवसरमा आयोगका अध्यक्ष डा. तिमल्सेनाले नेपालीहरुको संस्कृतिलाई जीवन्त बनाई राख्न यस्ता कार्यक्रमले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनु भयो ।संस्कृतिमा भएका कमजोर पक्षलाई सुधार गर्ने यसको संरक्षण गर्नुपर्ने उहाँको भनाई थियो ।
उहाँले तीज महिलाहरुको विशेष चाड भएपनि यसमा पुरुषहरुको सहभागीताले आवश्यक भएको औल्याउनु भयो । महिलाहरुको भूमिकालाई कमजोर पार्ने कार्य कसैले गर्न नहुने भन्दै उहाँले देश निर्माणमा गृहिणि महिलाको समेत अहम भूमिका हुने बताउनु भयो ।