काठमाण्डौ,१२ भदौ । एनएमबि बैंक लिमिटेडले दोस्रो कार्यकालका लागि पनि ह्यान्डलिङ बैंकको विशिष्ठिकृत सेवा प्रदान गर्नका लागि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र÷केन्द्रीय नवीकरणीय ऊर्जा कोषसँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ।
बैंकले जनवरी २०१८ देखि केन्द्रीय नवीकरणीय ऊर्जा कोषका लागि ह्यान्डलिङ बैंकको भूमिकामा कार्य गर्दै आइरहेकोमा यो बर्ष पनि उसैले गर्ने भएको हो । केन्द्रले एनएमबि बैंकलाई सार्वजनिक खरिद ऐन एवं सार्वजनिक खरिद र नियमावलीले निर्धारित योग्यता र मापदण्डअनुसार एक पारदर्शी एवं प्रतिस्पर्धी बोलकबोल प्रक्रियाका माध्यमबाट ह्यान्डलिङ बैंक चयन गरेको हो। केन्द्रले ‘क’ वर्गको इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरूलाई बोलकबोल प्रतिस्पर्धाका लागि आह्वान गरेको थियो।
एनएमबिले दिगो बैंकिङअन्तर्गत रही देशमा वास्तविक अर्थतन्त्रको प्रवर्द्धनका लागि साना तथा मझौला, कृषि, पूर्वाधार र ऊर्जा क्षेत्रलाई आफ्नो लगानीको प्राथमिकतामा राखी कार्य गर्दै आएको छ। बैंकले स्वच्छ ऊर्जाको प्रवर्द्धन र नेपालको ऊर्जा पूर्वाधार र आपूर्ति प्रणालीलाई अझ दिगो तरिकाले रुपान्तरण गर्ने, स्वच्छ र नवीकरणीय ऊर्जाका स्रोतहरुको उपयोग गर्ने र भारतबाट बिजुली र जीवषेश इन्धन आयातमा रहेको ठूलो परनिर्भरता घटाउने सरकारको पहललाई समर्थन गरिरहेको छ।
बैंकले हालसालै अन्तर्राष्ट्रिय मान्यता प्राप्त हरित कर्जा सिद्धान्तहरुका आधारमा आफ्नो हरित कर्जा कार्यविधि र वातावरणीय एवं सामाजिक व्यवस्थापन प्रणालीको विकास अन्तर्राष्ट्रिय वित्त निगमले वातावरणीय एवं सामाजिक जोखिमको क्षेत्रमा निर्देशित गरेका मापदण्डहरु र अन्तर्राष्ट्रिय अभ्यासहरुलाई समेत समेटेर बनाएको छ।
एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीले एनएमबिले दोस्रो कार्यकालमा समेत नवीकरणीय ऊर्जा क्षेत्रमा अनुदान, कर्जालगायत भायाविलिटी ग्याप फन्डिङमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रअन्तर्गत रहेको केन्द्रीय नवीकरणीय कोषलाई स्तरीय ह्यान्डलिङ बैंक सेवाहरु प्रदान गर्ने जानकारी दिए ।
यस सम्झौताले समग्र नविकरणीय ऊर्जा क्षेत्रलाई मूल प्रवाहमा ल्याई ऊर्जा र वित्तीय संसाधनहरुमा पहुँच नपुगेको जनसंख्यामा नवीकरणीय ऊर्जाको प्रवद्र्धनको लागि मद्दत गर्ने विश्वास राखेका बताउदै उनले यो सम्झौता बैंकको हरित कर्जा पोर्टफोलियोको वृद्धिमा कोषेढुंगा सावित हुुने विश्वास व्यक्त गरे ।
बैंकले देशैभरि रहेका १८१ शाखा, १३७ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत अत्याधुनिक एवं उच्चस्तरीय बैंकिङ सेवाहरु प्रदान गर्दै आइरहेको छ।