देशभर परेको अविरल वर्र्षाका कारण कतै पहिरोले सडक अबरुद्ध भएको छ भने तराईका विभिन्न जिल्लामा बाढीले बस्ती डुवान भएर जोखिम बढेको छ ।
लगातार परेको अविरल वर्षाका कारण रुपन्देहीका विभिन्न क्षेत्र डुबानमा परेका छन् । जिल्लाका दक्षिणी क्षेत्र लुम्बिनी, मर्चवारलगायतका धेरै ठाउँमा वर्षाले बढी असर गरेको प्रहरीले जनाएको छ । लगातारको वर्षाले खोला नालामा पानीको बहाब बढेपछि डुबान सुरु भएको हो ।
वर्षाका कारण भैरहवा, ओमसतिया, तिलोत्तमा, रुद्रपुरलगायतका क्षेत्र डुबानमा परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सत्यनारायण थापाले जानकारी दिनुभयो । “अहिलेसम्म मानवीय क्षति भएको छैन, अन्य क्षतिको विवरण सङ्कलन गरिहेका छौँ”, उहाँले भन्नुभयो ।
यसैगरी बिहीबार बेलुकादेखि परेको अविरल वर्षात्का कारणका पूर्वपश्चिम लोकमार्गको देवदह–७ शीतलनगरस्थित घोडाहा खोलाको पक्की पुल भासिएको छ । पक्की पुल भासिएपछि वैकल्पिक व्यवस्था नभएका कारण सडकमा सवारी आवागमन रोकिएको प्रवक्ता थापाले बताउनुभयो । पुल भासिएपछि बुटवलतर्फबाट जाने र आउने सवारी साधन सडकमै रोकिएका छन् ।

नेपालगञ्ज जलमग्न
राँझा– गए रातिदेखि परेको अविरल वर्षाले नेपालगञ्ज आसपासको क्षेत्र जलमग्न भएको छ । निरन्तर परिरहेको वर्षाले नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गत न्यूरोड, सेतु विक चोक, बेलासपुर, कोरियनपुर, घरबारीटोल, फुल्टेक्रा, बसपार्क, भृकुटीनगर, रामलिला मैदान, बाँके गाउँलगायतका स्थानमा पानी जमेर जलमग्न भएको जिल्ला विपद् व्यवस्थापन समितिका सूचना अधिकृत रुपन ज्ञवालीले जानकारी दिनुभयो ।
उहाँका अनुसार नेपालगञ्जमा २० मिलीमिटर वर्षा भएको छ । ढल निकासको उचित व्यवस्थापन नहुँदा नेपालगञ्जमा सामान्य वर्षात्मा पनि डुबान हुने गरेको छ । पानी जमेपछि पैदलयात्रीलाई आवतजावतमा समस्या भएको छ । निरन्तरको वर्षात्ले सहरका विभिन्न स्थान डुबानमा भएकाले थप जोखिम हुन नदिन उपमहानगरपालिकाले सरसफाइ शाखाका कर्मचारीलाई परिचालन गरेको प्रवक्ता प्रमोद रिजालले जानकारी दिनुभयो ।
निरन्तरको वर्षाले राप्ती नदीमा पानीको सतह बढ्न थालेकाले तटीय क्षेत्रका स्थानीय बासिन्दा त्रसित बनेका छन् । वर्षाले नदीमा बाढी आउने जोखिमले स्थानीय त्रसित बनेका हुन् । बाढी र डुबानको उच्च जोखिमलाई न्यूनीकरण गर्न जिल्ला विपद् व्यवस्थापन समितिले बाढी प्रभावित क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
बाँकेको कुसुममा राप्ती नदीको पानीको सतह तीन मिटर पुगेको जिल्ला विपद् व्यवस्थापन समितिका सूचना अधिकृत ज्ञवालीले जानकारी दिनुभयो । कुसुममा साढे पाँच मिटर सतह पुग्नेबित्तिकै राप्ती नदीको तल्लो तटीय क्षेत्रका दर्जनौँ गाउँ डुब्छन् । भारतले अन्तर्राष्ट्रिय नियमविपरीत लक्ष्मणपुर बाँध, कल्कलवा तटबन्ध र सीमा सडक निर्माण गरेपछि वर्षेनी गाउँ डुब्ने गर्दछन् । वर्षाले डुबानको जोखिम बढाएपछि स्थानीय प्रशासनले उद्धार कार्यमा तयारी रहन सुरक्षाकर्मीलाई निर्देशन दिएको छ ।
कन्चनपुरमा डुबान
लालझाडी गाउँपालिका–३ का बल्मी, डुङालगायत गाउँमा गए राति दोदा नदीमा आएको बाढीले तीन दर्जन बढी घर डुबानमा परेका छन् । चुरे क्षेत्रमा भएको वर्षाका कारण नदीमा आएको बाढीले घर डुबानमा परेपछि स्थानीय बासिन्दा घर छाडेर सुरक्षित स्थानमा सरेका छन् ।
आज बिहान २ः०० बजेको समयमा नदी बस्तीमा छिरेपछि चौपायासहित स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सार्नु परेको वडा नं ३ का वडाध्यक्ष टीकाराम चौधरीले बताउनुभयो । उहाँका अनुसार बल्मी र डुङाका गरी ४० बढी घर डुबानमा परेका छन् । नदीको पानी घरभित्र पस्दा स्थानीय बासिन्दाले भण्डारण गरेका अन्न भिजाइदिँदा क्षति भएको छ । केही घर भत्किने अवस्थामा छन् ।
“बाढीले पु¥याएको क्षतिबारे विवरण सङ्कलन गरिरहेका छौँ”, वडाध्यक्ष चौधरीले भन्नुभयो, “निकै क्षति गरेको छ, विवरण सङ्कलनपछि मात्रै क्षतिबारे जानकारी दिन सकिने छ ।” नदीमा बाढी आएको बेलैमा थाहा पाउँदा मानवीय क्षति भने नभएको उहाँले बताउनुभयो । झण्डै १० बिघा बढीमा किसानले लगाएको उखुसमेत नदीको बाढीले क्षति गरेको छ । स्थानीय बासिन्दा झक्कुप्रसाद चौधरीले नदीको बाढीले उखु ढलाएपछि लाखौँ क्षति भएको बताउनुभयो ।
“दुई दर्जन बढी किसानले खेतमा रोपेको उखु नदीको बाढीले ढलाइ दिएको छ”, उहाँले भन्नुभयो, “चुरे क्षेत्रमा व्यापक वर्षा हुँदा अप्रत्यासितरूपमा क्षति व्यहोरेका छौँ ।” नदीको बाढी खेतमा पस्दा किसानले रोपेको धानबालीसमेत बालुवाले पुरिदिएको छ । बल्मी र नन्दगाउँ जोड्ने दोदा नदीमाथि बन्दै गरेको पुलका निर्माण सामग्रीसमेत बाढीले बगाएर नोक्सानी पु¥याएको छ ।
अहिले नदीको पानीको सतह घट्दो छ । नदीको पानीको सतह घट्दै गर्दा जग्गा कटान तीव्र बनाएको स्थानीय तुलाराम चौधरीले बताउनुभयो । पानी पर्ने क्रम अझै जारी रहेका कारण स्थानीयवासी त्रासमा छन् ।
यसैगरी दोदामा आएको बाढीकै कारण शुक्लाफाँटा नगरपालिका–१२ तिलकीस्थित झोलुङ्गे पुल बचाउन निर्माण गरिएको तटबन्ध भत्किएको छ । तटबन्ध भत्किँदा झोलुङ्गे पुल जोखिममा परेको वडाध्यक्ष बाले रानाले बताउनुभयो । स्थानीय खोलामा आएको बाढीका कारण शुक्लाफाँटा–८ मा रहेको बैजनाथ सामुदायिक वनले घाटगद्दी गरेर राखेको काठ र दाउरा बगाएको छ ।
अविरल वर्षाले नहरमा क्षति
अविरल वर्षाका कारण बेगनास सिँचाइ प्राणालीको पोखरा महानगरपालिका–३२ स्थित भुनभुनेको नहरमा क्षति पुगेको छ । अत्यधिक परेको पानीसँगै नहर कटान हुँदा यहाँको करिब एक हजार ५०० हेक्टरमा लगाइएको धानखेत प्रत्यक्ष प्रभावित बनेको छ ।
सोमबार साँझदेखिको वर्षाले बेगनास सिँचाइ प्रणालीअन्तर्गतको बि–४ र र बि–३ नहर क्षेत्रको भुनभुनेमा करिब १५० मिटर नहर बाँध फुट्दा रु एक करोडभन्दा बढीको मर्मत खर्च लाग्ने देखिएको बि–४ शाखाका अध्यक्ष देवीलाल तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार नहरमा भएको क्षतिले यस क्षेत्रका ४५० भन्दा बढी कृषक उपभोक्ता मर्कामा परेका छन् ।
करिब पन्ध्र सय हेक्टरमा लगाइएको धानबाली सुक्खा हुने भएकाले शाखा–४ र शाखा–३ सिँचाइअन्तर्गतको नहरको बाँधले उच्च बहाव थेग्न नसकी फुटेर खुदीखोलामा मिसिन गएका कारण यहाँका मालमूल, सातमुहाने, झौरी, ४०० फाँट, खोलाको छेउ, खुदीखोला र राजाको चौतारालगायतका फाँटमा लगाइएको धानखेत सुक्ने अवस्थामा पुगेको स्थानीयवासीले बताएएका छन् ।
अस्थायीरूपमा नै भए पनि नहर तत्कालै बनाउन र खेतमा पानी पु¥याउन आवश्यक रहेकाले सिँचाइ कार्यालयबाट अस्थायी नहर बनाएर सिँचाइ गर्न आवश्यक रहेको शाखाका सदस्य बुद्धिसागर खनालले बताउनुभयो ।
पहिराले कालीगण्डकी करिडोर अवरुद्ध
पहिराले कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । बागलुङ नगरपालिका–१३ पैँयुपाटाको फुर्सेखोलामा आएको पहिराका कारण करिडोर अवरुद्ध भएको हो । करिडोरको बागलुङ–बलेवा १० किलोमिटर खण्डमा ठाउँ–ठाउँमा पहिरो खसेको प्रहरीले जनाएको छ । फुर्सेखोलामा निरन्तर चट्टान खसिरहेकाले आवतजावत बन्द भएको ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख बद्री शर्माले बताउनुभयो ।
करिडोर अवरुद्ध भएपछि गन्तव्यका लागि छुटेका सवारी साधन बलेवा क्षेत्रमा रोकिएका छन् । वर्षा रोकिएपछि डोजरको सहायताले पहिरो पन्छाउने काम हुने सडक डिभिजन कार्यालयले जनाएको छ । वैकल्पिक सडकसमेत पहिराका कारण लामो समयदेखि अवरुद्ध रहेकाले बागलुङको दक्षिण क्षेत्रमा सडक सम्पर्क टुटेको छ ।
मकवानपुरको भैँसे–भीमफेदी सडकखण्ड अवरुद्ध
मकवानपुर– अविरल वर्षाका कारण पहिलो खस्दा भैँसे–भीमफेदी सडकखण्डमा यातायात अवरुद्ध भएको छ । आज बिहान ४ः३० बजेको समयमा भीमफेदी गाउँपालिका–२ स्थित माथिबाट लेदो माटोसहितको पहिरो खस्दा भैँसे–भीमफेदी सडकखण्डमा यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो ।
पहिराका कारण सडक अवरुद्ध हुँदा काठमाडौँबाट कुलेखानी–भीमफेदी हुँदै हेटौँडातर्फ आउने र हेटौँडाबाट भीमफेदी हुँदै काठमाडौँतर्फ जाने दुवैतर्फका सवारी साधन रोकिएका छन् । उक्त सडकखण्डमा यातायात सञ्चालनका लागि पहिरो पन्छाउने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक रिमालले बताउनुभयो ।
त्यस्तै इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलामा पहिलो जाँदा हेटौँडा–भीमफेदी–कुलेखानी सडकखण्डमा यातायात अवरुद्ध भएको छ । त्यहाँको पनि पहिरो पन्छाउने कार्य भइरहेको प्रवक्ता रिमालले जानकारी दिनुभयो ।
भीमदत्त राजमार्ग अवरुद्ध
गोदावरी– गए रातिदेखि परेको अविरल वर्षाका कारण पहिराले भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । कैलालीको चुरे गाउँपालिका–५ खानीडाँडामा सडक माथिबाट आएको पहिराले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार पहिराले राजमार्ग अवरुद्ध भएपछि गन्तव्यका लागि छुटेका सवारी साधन खानीडाँडामै रोकिएका छन् । डोजरको सहायताले पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ ।