चितवनको भरतपुर महानगरपालिकाले निर्माण गरेको भरतपुर मेट्रो प्लाजा बहुउदेश्यीय भवनको आज शिलन्यास भएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सो प्लाजाको सिलन्यास गर्दै चितवनसहितका तीन जिल्लाको विकासका लागि वृहत्तर योजनाअन्तर्गत काम गर्नुपर्ने बताए ।
प्रचण्डले चितवनको नवलपुरको दाउन्नेसम्म र मकवानपुरको हेटाँैडालाई जोडेर एउटै विकास प्राधिकरणको अवधारणाअन्तर्गत काम गर्नुपर्ने बताए ।
अध्यक्ष दाहालले यी जिल्ला मिलाएर विकासको मोडालिटिमा जाँदा यहाँको शिक्षा, पर्यटन, कृषि, धार्मिक पर्यटनका हिसाबले प्रचुर सम्भावना बोकेको क्षेत्र बन्ने विश्वास व्यक्त गरे ।
“अब विकासका कामलाई गति दिने कोशिस हुने छ ।” अध्यक्ष दाहालले आफैले बनाएको प्रधानमन्त्री मप्रति नै सकारात्मक नहुँदा यहाँको विकासमा समस्या आएको उल्लेख गर्दै जसले गठबन्धनबाट देशमा राजनीतिक स्थायित्व र विकास हुन्छ भनेर लाग्यो त्यहीमाथि प्रहार र निषेधको खेल भएको बताए ।
प्रचण्डले, “निजी क्षेत्रलाई सकारात्मक ढङ्गले हेर्ने र उनीहरुसँग भएको साधनस्रोत र क्षमताको अधिकतम प्रयोग गर्न उदारतापूर्वक आउने गरेको इतिहास होइन । हाम्रो पूरै नकारात्मक उदाहारण र विगत छ ।”
संविधानमा नै सार्वजनिक, निजी र सहकारीको संयोजनमा नेपालको विकासको मोडेल समाजबाद उन्मुख हुने छ भनेर लखे पनि व्यवहारिक रुपमा त्यस्ता आयोजना अघि बढ्न र निजी क्षेत्रसँग भएको साधनस्रोत परिचालन गर्नमा राज्य राम्रोसँग अघि आउन नसकेको प्रचण्डको भनाइ छ ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको अध्यक्षतामा सम्पन्न समारोहमा प्रतिनिधिसभा सदस्य प्रमोद शाह, नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, कम्युनिष्ट नेता तेजेन्द्रबहादुर खड्का, महानगर उपप्रमुख पार्वती शाह ठकुरी, भरतपुर महानगरपालिका–३ का अध्यक्ष चन्द्रमित्र पण्डित, उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष राजु श्रेष्ठ, चितवन उद्योग सङ्घका अध्यक्ष राजु पौडेल, विल्डर्सका कार्यकारी निर्देशक जीवन कँडेल, बिरोक एण्ड कम्पनीका अध्यक्ष रादेश पन्त, भरतपुर महानगरपालिकाका वरिष्ठ इञ्जिनीयर भरतकुमार आचार्यलगायतले संवोधन गरेका थिए ।
सार्वजनिक निजी साझेदारी मोडलमा निर्माण हुने भरतपुर मेट्रो प्लाजा आर्या बिल्डर्स एण्ड इञ्जिनीयरिङ प्रालिले भरतपुर महानगरपालिका–३ लायन्सचोकमा निर्माण र सञ्चालन हुने गरी सम्झौता भएको छ । सम्झौताको मितिले निर्माणका लागि तीन वर्षसहित ३० वर्षपछि भरतपुर महानगरपालिकालाई हस्तान्तरण गर्नुपर्ने छ ।
निर्माणाधीन बहुतले भरतपुर मेट्रो प्लाजामा दुई तला अन्डर ग्राउन्ड पार्किङसहित १४ तलाको हुने छ । तीन लाख २५ हजार वर्ग फिट र ५१ मिटर उचाइ रहने सो प्लाजामा पाँच तारे होटलदेखि सिनेमा हल, फुट कोर्टका साथै व्यावसायिक स्थल हुनेछन् ।
आयोजनाको निर्माण आर्या बिल्डर्सले गर्नेछ भने यसको अनुगमन र नियमन भरतपुर महानगरपालिकाले गर्ने छ । भरतपुर मेट्रो प्लाजा ११ कठ्ठा ७ धुर क्षेत्रफलमा निर्माण हुने बताइएको छ ।