काठमाडौँ, ४ भदौ । नेपालका कुल नागरिकमध्ये ६७.३४ प्रतिशतमा वित्तीय पहुँच पुगेको छ । राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको वित्तीय पहुँच सम्बन्धी अध्ययन प्रतिवेदनले तीन पुस्ते विवरणको आधारमा प्राकृतिक व्यक्तिको एक मात्र निक्षेप खाता गणना गर्दा २०७७ जेठ मसान्तमा ६७.३४ प्रतिशत नागरिकको कम्तीमा एक निक्षेप खाता रहेको देखाएको छ ।
२०७८ असारसम्म यस्तो पहुँच करिब ६१ प्रतिशत थियो । यो बैंकमा रहेको निक्षेप खाताका आधारमा मात्र हो । यो अध्ययनमा लघुवित्त र अन्य संघसंस्थाबाट वित्तीय सेवा लिएका नागरिकलाई समावेश गरिएको छैन ।
‘२०७७ जेठ मसान्तमा तीन करोड १८ लाख ८६ हजार निक्षेप खाता र यसमध्ये नेपाली प्राकृतिक व्यक्तिको दुई करोड ९९ लाख २८ हजार ४ सय ३६ निक्षेप खाता छन,’ प्रतिवेदनमा भनिएको छ । ‘कुल निक्षेप खातामा प्राकृतिक व्यक्तिको खाताको हिस्सा ९३.४८ प्रतिशत पाइएको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘प्रतिहजार व्यक्ति ९ सय ९८ खाता रहेकामा पुरुषको प्रतिहजार व्यक्ति १ हजार ३ सय १४ खाता र महिलाको प्रतिहजार व्यक्ति ६ सय ८७ खाता रहेका छन् ।’
प्रदेशगत रूपमा सबैभन्दा बढी वाग्मती प्रदेशमा प्रतिहजार व्यक्ति १,८०२ र कर्णाली प्रदेशमा सबैभन्दा कम प्रतिहजार व्यक्ति ४५८ खाता रहेका छन् । महानगरमा प्रतिहजार व्यक्ति ३,२९६ र ग्रामीण नगरपालिकामा प्रतिहजार व्यक्ति २ सय ५१ खाता रहेका छन् ।
कुल निक्षेप खातामध्ये ६७।७ प्रतिशत खाता सक्रिय रहेका छन् । पुरुषको खाता संख्यामध्ये ६५।२ प्रतिशत र महिलाको खाता संख्यामध्ये ७२।३ प्रतिशत खाता सक्रिय रहेका छन् । ग्रामीण नगरपालिकामा ८१।५ प्रतिशत खाता सक्रिय रहेको पाइएको छ ।
प्राकृतिक व्यक्तिले खोलेका कुल निक्षेप खाता संख्यामा बचत निक्षेप खाताको हिस्सा ९०।६ प्रतिशत र मुद्दती निक्षेप खाताको हिस्सा ३।१ प्रतिशत रहेको छ ।
व्यक्तिगत खातामा ९६.१५ प्रतिशत हिस्सा वयस्क व्यक्ति (पन्ध्र वर्षभन्दा माथि) को रहेको छ । प्रति एक लाख जनसंख्यालाई सेवा पुर्याउने बैंकको शाखा संख्या औसतमा १८।९८ प्रतिशत रहेको छ ।
उक्त संख्या सबैभन्दा धेरै गण्डकी प्रदेशमा ३०.२५ र सबैभन्दा कम प्रदेश नं. २ मा ९.७३ प्रतिशत रहेको छ । ग्रामीण क्षेत्रमा प्रति एक लाख जनसंख्यालाई सेवा पुर्याउने बैंक तथा वित्तीय संस्थाको शाखा संख्या ८.५४ र महानगरपालिकामा ४५।७६ प्रतिशत रहेको अध्ययनले देखाएको छ ।