आन्तरिक राजस्व दोब्बर पार्ने कार्ययोजना ल्याउन अर्थमन्त्रीको निर्देशन

आन्तरिक राजस्व दोब्बर पार्ने कार्ययोजना ल्याउन अर्थमन्त्रीको निर्देशन

  • बिहिबार, साउन २८, २०७८
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाडौँ, २८ साउन । अर्थमन्त्री जनार्दन शर्माले आन्तरिक राजस्व दोब्बर बनाउने कार्ययोजना पेश गरी कार्यान्वयनमा गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ । आन्तरिक राजस्व विभागसँग आज मन्त्रालयमा भएको छलफलमा मन्त्री शर्माले राजस्व सङ्कलनको अहिलेको अवस्थाबाट देश विकास सम्भव नरहेको भन्दै यसलाई दोब्बर बनाउने गरी नयाँ कार्ययोजना पेश गर्न भन्नुभएको हो ।

“चलिराछ, यस्तै चल्छ भन्ने कुरा मेरा लागि मान्य छैन । एकपटक राम्रोसँग सोच्नुहोस् राजस्व सङ्कलन बढाउन सकिने उपाय तपाईं आफैँ फेला पार्नुहुनेछ”, उहाँले भन्नुभयो, “त्यसका लागि तपाईंलाई के चाहिन्छ, जनशक्ति, प्रविधि, तालिम जे आवश्यक पर्छ त्यो उपलब्ध गराइन्छ । तर राजस्व दोब्बर बनाउने लक्ष्यका साथ काम गर्नै पर्दछ ।”

उहाँले करदातालाई कानून लगाएर कर तिराउने नभई करदाता आफैँले कर तिरुँतिरुँ लाग्ने संस्कृति विकास गर्ने खालको योजना बनाउन मातहतका निकायलाई निर्देशन दिनुभयो । “करदाता आफैँ उत्साहित भएर कर तिर्ने हुनुपर्दछ । त्यस्तो वातावरण निर्माण गर्न मन्त्रालयकातर्फबाट केके गरिदिनुपर्ने हो त्यसको प्रस्ताव पनि तयार गर्नुहोस्”, मन्त्री शर्माले अगाडि भन्नुभयो, “हामी निरन्तरताको सुधारमा रमाएर बस्ने होइन कि गुणात्मक सुधारको खाँचो छ ।”

उहाँले समग्र राष्ट्रको सम्पत्ति लेखा जोखा गर्नुपर्ने आवश्यकतासमेत औँल्याउनुभयो । “कति हो त हाम्रो देशको सम्पूर्ण मूल्याङ्कन ? यसको हिसाबकिताब खोई ? जनतासँग भएको सम्पत्ति केकति हो ? सरकारको स्वामित्वमा भएको सम्पत्ति के कति हो ? यसको हिसाबकिताब गर्ने योजना पनि चाहियो”, उहाँले भन्नुभयो ।

कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनीले राजस्व भनेको देशकै प्राणरेखा भएको भन्दै राजस्व सङ्कलनको निर्धारित लक्ष्य हेरफेर हुने सम्भावना रहेको बताउनुभयो । राजस्व समूहका कर्मचारीले १०–५ को ड्युटी गरेर नपुग्ने भएकाले सोहीअनुसार थप जाँगर चलाएर काममा खटिन निर्देशन दिनुभयो । आन्तरिक राजस्व विभागअन्तर्गतका ८४ वटा कार्यालय सबैले राजस्व सङ्कलनमा देखिएका समस्याको एमआरआइ गर्नुपर्नेमा जोड दिँदै सचिव मरासिनीले समाधानका उपाय निकाल्न आग्रह गर्नुभयो ।

प्रविधिकामाध्यमबाट सबै राजस्व कार्यालयलाई यथाशक्य कागजरहित, अनुहाररहित र भौतिक सम्पर्करहित बनाउन निर्देशन दिनुभयो । विसं २०५४ देखि मूल्य अभिवृद्धि कर (भ्याट) लगाएदेखि जिडिपीको नौ प्रतिशतको हाराहारीमा रहेको आन्तरिक राजस्व २२ प्रतिशतमा पुगेको तथ्याङ्क उल्लेख गर्दै उहाँले यसलाई व्यवस्थित गर्न विलिङ सिष्टममा एकीकृत गर्न आग्रह गर्नुभयो ।

देशका विभिन्न ठाउँमा रहेका ८४ वटा राजस्व कार्यालयमध्ये ३० वटाले मात्र तोकिएको लक्ष्य पूरा गरेको जानकारी दिँदै उहाँले सबै कार्यालयले लक्ष्यअनुसारको काम गर्न निर्देशन दिनुभयो । आन्तरिक राजस्व विभागका महानिर्देशक झक्कुप्रसाद आचार्यले आर्थिक वर्ष २०७७÷७८ को कूल राजस्वमा विभागले ४६ प्रतिशत योगदान गरेको जानकारी दिनुभयो ।

गत वर्ष कूल राजस्वमध्ये भन्सार विभागबाट ४५ प्रतिशत, गैरकर राजस्व सात प्रतिशत र अन्यबाट दुई प्रतिशत राजस्व सङ्कलन भएको थियो । आर्थिक वर्ष २०७७/७८ का लागि आन्तरिक राजस्व विभागलाई ४५० अर्बको लक्ष्य तोकिएकामा ४२९ अर्ब सङ्कलन भएको छ । चालू आर्थिक वर्षका लागि ५२२ अर्ब राजस्व सङ्कलनको लक्ष्य तोकिएको छ ।

यस्तै गत असारसम्म ४० लाख ६६ हजार १३१ ले स्थायी लेखा नम्बर (प्यान) लिएका छन् भने दुई लाख ९० हजार ७१४ करदाता मूल्य अभिवृद्धि कर (भ्याट) मा आबद्ध छन् । व्यवसायी करको दायरामा औपचारिकरुपले आबद्ध रहेको भए पनि वार्षिक विवरण नबुझाउनेको सङ्ख्यामा वर्षेनी वृद्धि भइरहेको महानिर्देशक आचार्यले बताउनुभयो ।

कर कार्यालयमा दर्ता भई वार्षिक विवरण नबुझाउने आर्थिक वर्ष २०७४/७५ मा ३३.१८ प्रतिशत र आर्थिक वर्ष २०७५/७६ मा ३७.५३ प्रतिशत रहेकामा आर्थिक वर्ष २०७६/७७ मा सो सङ्ख्या बढेर ४२.९२ प्रतिशत पुगेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ