काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले बालबालिका सम्बन्धी नयाँ बीमा योजना सार्वजनिक गरेको छ । कम्पनीले ‘महालक्ष्मी बाल बचत बीमा योजना’ प्रचलनमा ल्याएको हो ।
बीमा कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माले यो बीमा योजना वितरणको लागि शुभारम्भ गरेका हुन् । यस बीमा योजनामा बचत, बचतमा प्रतिफल र बच्चाको जोखिम बहनको सुविधा समेत रहेको कम्पनीको भनाई छ ।
बच्चा जन्मेको १ महिनादेखि बच्चा १८ वर्ष नपुगुञ्जेल यस बीमा योजना लिन सकिन्छ भने बीमा अवधिको छनोट बच्चा १८ वर्ष पुगे पछि ३५ वर्ष नपुग्दा सम्मको अवधि राखि ५ देखि २५ वर्षका लागि गर्न सकिन्छ ।
यस योजना अन्तर्गत बीमा अवधि समाप्तिमा बच्चाको भविश्य निर्माणको लागि बीमाङ्क रकम र आर्जित बोनस रकम प्रदान गरिनेछ । कुनै कारणवस बीमा चालु अवस्थामा बीमितको मृत्यू भएमा तत्कालै २५ प्रतिशत बीमाङ्क रकम भुक्तानी दिइने र बाँकी ७५ प्रतिशत बीमाङ्क रकम, आर्जित बोनस र ब्याज बीमा अवधि समाप्तिमा प्रदान गरिने गरी थप सुविधा यस योजनामा समावेश गरिएको छ ।