काठमाडौँ । सरकारले चर्चित व्यक्ति कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले जनाएको छ ।
उनलाई हटाउन नहुने भन्दै अघिल्लो सरकारको पालामा सार्वजनिक दबाब बढेको भएपनि पदावधि सकिएपछि हटेका थिए । सो ठाँउमा हितेन्द्र देव शाक्य कार्यकारी प्रमुख भएका थिए ।
घिसिंगले संभवतः आजै पदवहाली गने संभावना रहेको छ ।
घिसिङ कार्यकारी निर्देशकको चारवर्षे कार्यकाल पूरा गरी भदौ ३१ मा प्राधिकरणबाट बिदा भएका थिए । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र शाक्यलाई जल तथा ऊर्जा आयोगमा विशिष्ट श्रेणीको सुविधासहित सरुवा गरिएको बताईएको छ ।
२०७३ भदौ २९ को मन्त्रिपरिषद् निर्णयबाट प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त घिसिङलाई लोडसेडिङ अन्त्य गरेको र वर्षौंदेखि घाटामा गएको संस्थालाई नाफामा लगेको श्रेय गएका कारण नै उनी लोकप्रिय बनेका थिए ।
२०७५ वैशाखदेखि देश लोडसेडिङमुक्त भएको घोषणा गरिएको थियो । घिसिङ नियुक्त हुँदा प्राधिकरणको सञ्चिति घाटा करिब ३५ अर्ब रुपैयाँ थियो । घिसिङको कार्यकालको अन्तिम वर्षमा प्राधिकरणको मुनाफा करिब १२ अर्ब पुगेको थियो ।
उनले अब लोडसेडिगं पूर्ण अन्त्य गर्दै विद्युत प्राधिकरणलाई नाफामा लैजाने आशा सर्वसाधारण सम्मले व्यक्त गर्न थालेका छन् ।