काठमाडौं, २४ साउन ।बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले आइपिओ निष्काशन तथा बिक्री गर्ने भएको छ ।
कम्पनीले साउन ३२ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र संस्थापक शेयरधनीहरूका लागि आइपिओ निष्काशन गर्ने भएको हो । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ता सम्मका लागि आवेदन दिन सकिनेछ ।
प्रतिशेयर १०० रुपैयाँ दरको १२ लाख कित्ता साधारण शेयरमध्ये ४ लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्र नुवाकोट जिल्लाका बासिन्दाहरुका लागि निष्काशन गर्ने भएको हो ।
कम्पनीले साउन ३२ गतेदेखि निष्काशन गर्ने आइपिओ छिटोमा भदौ १४ गते र ढिलोमा भदौ २९ गतेसम्म आवेदन दिन सकिनेछ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल रहेको छ। आइपिओमा ज्योति विकास बैंक, प्रभु बैंक र सिभिल बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
कम्पनीको आइपिओलाई इक्रा नेपालले कम्पनीको दायित्व बहन गर्ने क्षमताममा औसत जोखिम रहेको इक्रा एनपी इस्युअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ।