बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेबिको विस्कुटको फ्याक्ट्रीमा लागेको आगो १० घण्टा पछि नियन्त्रणमा आएको छ । बिहान २ः ०० बजेदेखि लागेको आगो नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र बारुणयन्त्रका कर्मचारीको निरन्तर प्रयास पछि नियन्त्रणमा आएको हो ।
हेलिकप्टरबाट समेत पानी ओसारेर खन्याईएको थियो भने दमकल निरन्तर परिचालन गरिएको थियो ।
आगलागी नियन्त्रणमा लिन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिकाका ८ दमकल प्रयोग गरिएको सेनाले जनाएको छ । यस्तै २५ ट्याङ्करले निरन्तर पानी ओसारपसार गरेका थिए । सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार बालाजुस्थित श्री नम्बर १ बाहिनीका बाहिनी पतिको कमाण्डमा १ सय २८ सेना परिचालित थिए भने सिम्रिक एयरको हेलिकप्टर समेत प्रयोग गरिएको थियो ।
एक अर्ब लगानीमा रहेको उक्त उद्योगले नयाँ प्लान्ट स्थापना गर्दै गर्दा आज आगलागी भएको र यसको क्षतिको विवरण एकीन भईनसकेको जनाएको छ ।
विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिएपनि यसको विस्तृत कारण अझै खुल्न सकेको छैन ।
सन्ताउन्न वर्ष पहिले स्थापना भएको उक्त कम्पनीले विभिन्न नामका बिस्कुट, कुकिजलगायतका सामग्री उत्पादन गर्दै आएको छ ।