जाजरकोट साउन २० । जाजरकोटको जुनीचाँदे गाउँपालिका २ का वडाध्यक्ष रामबहादुर नेपालीले एक युवालाई डोरीले बाँधेर कुटपिट गरेका छन् । वडाअध्यक्ष नेपालीले मजकोटका १८ वर्षीय सर्पे दमाईलाई डोरीले बाँधेर कुटपिट गरेको पुष्टी भएको छ ।
मदिरा सेवन गरी होहल्ला गरेको भन्दै वडाअध्यक्ष आफैले डोरीले बाँधेर निर्घात कुटपिट गरेको स्थानीयको भनाई छ ।
पोषण भत्ता विवादको निहुँमा वडाध्यक्ष नेपालीले सर्पेलाई स्थानीय गब्बले तिरुवाको घरको दलानमा डोरीले बाँधेर निर्घात कुटपिट गरी तीन घण्टा कब्जा गरेका थिए ।
वडाध्यक्ष नेपालीले सर्पेलाई डोरीले बाँधेर कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि वडाअध्यक्षमाथि कार्बाहीको चौतर्फी माग भईरहेको छ ।
सरकारी सेवा पाउन वडा कार्यालयमा पुगेका सेवाग्राहीलाई वडाअध्यक्ष जस्तो व्यक्तिले पदको दुरुपयोग गरी मानिसलाई बाँधेर कुटपिट गर्नु गलत भएको स्थानीयको भनाई छ । वडाअध्यक्ष नेपाली एमालेबाट निर्वाचित हुन् ।
पीडितलाई जाहेरी नदिन वडाअध्यक्ष नेपालीले दबाब दिईरहेको सर्पेको पारिवारीक स्रोतले जनाएको छ ।