गाँस, बास कपास र रोजगारीको अभावको मुल्य कस्तो हुन्छ ? जहाँ नागरिकले राज्यको अनुभूति गर्न पाँउदैनन् सरकारबारे के भन्दा हुन् ? हो दार्चुलाको व्यासका नागरिकले राज्य नभएको अनूभूति गरीरहेका छन् । जो आफ्नै देशको प्रशासनिक अड्डा पुग्न , शहर पुग्न महाकाली नदीको जोखिमपूर्ण यात्रा गरेर त्यो पनि भारतको बाटो हिँड्नु परिरहेको छ ।
यही बाध्यात्मक विकल्पको प्रयोग गर्दा भारतीय सुरक्ष्ााँ फौज एसएसबीले जघन्य र अन्तराष्ट्रिय मानवता विरुद्धको अपराध जस्तो प्रवृतिमा उत्रिएर महाकाली नदीको तुईन नै काटेर एक नेपाली युवालाई महाकालीमा खसालेर वेपत्ता बनायो ।
व्यासका ३५ वर्षीय जयसिंह धामी गाँउमा रोजीरोटीको अभावमा वैदेशिक रोजगारीमा जानका लागि जिल्ला सदरमुकाम जान साथीहरुसँगै निस्किएका थिए । साथीहरु तुईनबाट पारी तरेपछि उनी तुईनमा बसेर तर्दैथिए । अचानक एसएसबीले तुईन नै काटिदिएपछि उनी महाकालीनदीमा खसे । त्यसपछि उनको अवस्था अहिले सम्म पत्ता लागेको छैन ।
एसएसबीलाई नेपालीले हात जोडे, सलाम गरे , चिच्याए तर पनि एसएसबी रोकिएन तुईनको गाँठो फुकाएरै छाड्यो , तुईनसँगै जयसिंह महाकालीको बेगमा खसे, केही तल सम्म जयसिंह बगेको देख्यौँ, खोज्न पनि गयौँ भेटेनौँ, स्थानीय नवीन सिंहले भने ।
नेपालको तर्फबाट प्रहरी र शसस्त्र प्रहरीले एसएसबीलाई सम्पर्क गरेको देखिएपनि कमाण्डर स्तरको औपचारीक प्रतिकृया मात्रै पाएको ेदखिन्छ । नेपाली सुरक्षा अधिकारीलाई एसएसबीका अधिकारीले तुईन काट्नु अघि नै धामी महाकालीमा खसेको जिकिर गरेर एसएसबीले आफ्नो गल्ती ढाकछोप गर्न खोजिरहेका छन् ।
प्रत्यक्षदर्शी स्थानीयले जिल्लामा निवेदन समेत दिईसकेका छन् ।
अहिले सम्म गृहमन्त्रालयले आधिकारीक रुपमा घटनाको छानविन नगर्नु, यस बारेमा अनुसन्धान गरेर भारतीय पक्षमाथि प्रश्न उठाउन समेत सकेको छैन । सरकारले किन अहिले सम्म आधिकारीक प्रतिकृया जनाउन सकेको छैन ? सत्ताधारी पार्टी काँग्रेस बोलिसकेको छ तर उसैको नेतृत्वमा रहेको सरकार किन बोल्न ढिलाई गरीरहेको छ ? सिंहदरबार र बालुवाटारको मझेरीमा मात्रै स्वाभिमान र संविधान खोजिरहने हो कि सिमानाका नागरिकको जिउ ज्यानको रक्षामा पनि लाग्ने हो ?
लिपुलेक, कालापानी र लिम्पियाधुरामा अतिक्रमण गरेको भारतको यो रबैया शक्तिका आडमा अपराध देखिन्छ । जयसिंह धामीलाई तुईन काटेर महाकालीमा खसाल्ने एसएसबीको अपराध बारे केही बोल्नै पर्छ सरकारले । अन्यथा महाकालीमा थुप्रै जयसिंहहरुको ज्यान एसएसबीले यसै गरी लिन सक्छ ।