१५ साउन, काठमाडौं । सरकारले चीनबाट कोरोना भाइरस विरुद्धको थप खोप खरिद गर्न चाहेकाले सहजिकरण गरिदिन आग्रह गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले नेपालका लागि चिनिया राजदुत होउ याङछीसँग आजको भेटमा यस्तो आग्रह गरेका हुन् ।
अर्थमन्त्री जनार्दन शर्मा र राजदूत याङ्छीबीच आज मन्त्रालयमा भेटवार्ता भएको हो । भेटमा अर्थमन्त्री शर्माले कोभिड महामारी र भूकम्पछिको पुननिर्माणमा प्राप्त भएको चिनिया सहयोगको लागि धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि चिनिया सहयोग र सदभाव निरन्तर रहने विश्वास व्यक्त गरेका छन् ।
मन्त्री शर्माले कोभिडविरुद्ध जनतालाई खोप लगाउनु सरकारको प्राथमिकताको काम भएको भन्दै चीनले १८ लाख डोज खोप अनुदानमा दिएकोमा आभार प्रकट गरेका छन् ।
चिनिया लगानीमा अघि बढिरहेका सडक, जलविद्युत, विमानस्थललगायतका निर्माणाधिन परियोजना सम्पन्न गर्न नेपाल सरकारले गर्नुपर्ने कामहरुको सम्बन्धमा गंभीरतापूर्वक ध्यान दिने प्रतिवद्धता उनले जनाए ।
भेटमा चिनिया राजदुत होउले जुनसुकै सरकार आएपनि नेपाललाई हेर्ने चिनिया नीति र दृष्टिकोणमा परिवर्तन नआउने धारणा व्यक्त गरेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।