जनकपुर साउन १० । माओवादी केन्द्रका नेता एवं महोत्तरीका सांसद गिरीराज मणि पोखरेलले हरित अभियान शुरु गरेका छन् । चुरे क्षेत्रको संरक्षण र प्राकृतिक स्रोत साधनको दिगो उपयोग गरेर देश विकास टेवा पुर्याउन हरित अभियान सञ्चालन गरिएको जनाए ।
देशकै जनसंख्याको आधा हिस्सा चुरेमा निर्भर छ, त्यसैले चुरेको हरियाली जोगाउन, जैविक विविधता बचाउन, जलाधार संरक्षणमा एकीकृत विधि अपनाउनुपर्छ ।’ पोखरेलले विज्ञप्तिमा भनेका छन् ।
चुरे संरक्षणको पहलमा महोत्तरी निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य समेत रहेका पोखरेलले जिल्लाको गौशाला, बर्दिबास र भंगहा नगरपालिकाबाट अभियान सुरु गरेका हुन् । आइतबार जनकपुरमा पत्रकार सम्मेलन गरी चुरे संरक्षणका लागि हरित अभियान चलाउने र पहिलो चरणमा ३ लाख विरुवा रोपिने जानकारी दिए ।
‘हरित अभियान सम्पूर्ण मानव तथा प्रकृतिबीचको स्वास्थ्य सम्बन्धलाई पुर्नःस्थापित गराउने पहल हो, यस अभियानले समुदायले भोगी रहेको विभिन्न समस्याहरुलाई क्रमगत रुपमा निर्मूल पार्न सहयोग गर्नेमा सहयोग गर्छ, पोखरेलले भने ।