एमाले भित्रको अन्तरविरोध संसदीय समितिमा पनि देखा परेको छ । संसदीय समितिको आजको बैठकमा एमाले ओली र माधव पक्षका सांसदहरुबीच चर्को भनाभन भयो । यही भनाभनमा ओलीका सांसद विरुद्ध काँग्रेस र माओवादीका सांसद पनि थपिए ।
खास गरी ओली पक्षका सांसद नारदमुनि रानाले संसद जनताले नभई सर्वोच्च अदालतले पुनस्थापित गरिदिएको भन्दै माधव नेपालको कटाक्ष गर्न थालेपछि माधव पक्षका दीपक प्रकाश भट्ट जगिए । त्यसपछि माधव नेपाल पनि कस्सिए र उनीहरुसँगै काँग्रेस र माओवादीका सांसद पनि रानामाथि खनिएका थिए ।
रानाले माधव नेपाललाई लक्षित गर्दै बैशाख २७ गते केपी ओलीले विस्वासको मत लिईरहेका बेला संसद चाहिनेहरु कहाँ थिए ? भन्दै विरोध जनाएका थिए ।
आफ्नो पार्टीको प्रधानमन्त्री हुँदा घरमा गएर सुत्ने अनि संसद चाहिन्छ भन्ने ? भनेपछि माधव पक्षका सांसद कड्किदै प्रतिगमनको मतियार बाहिर जानुस् भन्दै रानालाई हप्काएका थिए ।