काठमाडौँ, ७ साउन । नेपाली कांग्रेसका सांसद दिव्यमणि राजभण्डारीले मन्त्री, मन्त्रालयमा कार्यरत कर्मचारीहरुमात्र नभइ नेपाल वायुसेवा निगमका कर्मचारीहरुको पनि मिलेमतोमा बोइङदेखि र बाइडबडी खरिदमा भएको भ्रष्टाचार भएको बताएका छन् ।
अन्तर्राष्ट्रिय सम्बन्ध समितिको वायुसेवा हेर्ने उपसमिति संयोजक रहेका सांसद राजभण्डारीले आज नयाँ सडकस्थित वायुसेवा निगमको प्रधान कार्यालयमा भएको विरोध प्रदर्शन कार्यक्रममा बौल्दै नेपाल वायुसेवा निगमको बेथितिमा कर्मचारीहरुको पनि हात रहेको बताए ।
अहिलेको परिस्थितिमा ५१ प्रतिशत स्वामित्व सरकारको हुनुपर्ने भन्दै सांसद भण्डारीले बोइङ खरिदको समयदेखि बाइडबडी खरिदको समयसम्म भएको भ्रष्टाचारमा सरकारका मन्त्रीहरु, नेपाल सरकारमा काम गर्नेहरु मात्र नभइ निगममा कार्यरत कर्मचारीको पनि संलग्नता रहेको बताए ।
५१ प्रतिशत स्वामित्व नेपाल सरकारको हुन्छ भनेको थियो, तर त्यो मैले देखिनँ, जनता र कर्मचारीको हकहितका लागि ५१ प्रतिशत स्वामित्व सरकारको हुनैपर्छ, उनले भने ।
सांसद भण्डारीले निगमलाई निजीकरण गर्नुपर्छ भन्ने नभइ देशको स्वार्थ, स्वाधिनता र इज्जत गुम्न दिनुनहुने बताएका छन् । साथै उनले लोकतन्त्र, व्यवस्थापन र प्रजातन्त्रमा भन्ने एउटा, देख्ने एउटा र गर्ने एउटा भइरहेको समेत आरोप लगाएका छन् ।
सरकारको स्वामित्वमा रहेको नेपाल वायुसेवा निगम माफियालाई बुझाउन लागिएको भन्दै नेपाल वायुसेवा निगमका कर्मचारीहरुले संयुक्त ट्रेड युनियन संघर्ष समिति बनाएर विरोध प्रदर्शन गरेका हुन् ।
सरकारले हतारमा सरकारको सम्पत्ति माफियाहरुलाई बुझाउन लागेको र नेपालको गौरवशाली इतिहास मेट्न खोजेको भन्दै उनीहरुले यो कार्य तत्काल रोक्न माग गरेका छन् । सरकारको हितमा काम गर्नुपर्ने महाप्रबन्धक डिमप्रसाद पौडेलले सरकारको मिलेमतोमा माफियाको हितमा कम गरेको भन्दै समितिले उनको राजीनामाको माग समेत गरेको छ ।
संघर्ष समितिले ३ दिनको छोटो अवधिमा कुनै कर्मचारीलाई थाह नदिइ प्रबन्धपत्र तयार गरेर ५१ प्रतिशत शेयर किन्ने जुनसुकै लगानीकर्तालाई नेतृत्व दिनेलगायत प्रावधान राख्नुले यो सरासर माफियालाई दिन खोजेको पुष्टि भएको बताएको छ ।