कोरोना महामारीमा विष सेवन गर्ने बढे

कोरोना महामारीमा विष सेवन गर्ने बढे

  • बिहिबार, साउन ७, २०७८
  • मीना घोरसाइने

  • 5.1K
    SHARES

काभ्रेपलाञ्चोक, ७ साउन । डाँडापारि गाउँपालिकाका ४३ वर्षीय बारपाक तामाङ मादक पदार्थको लत बसेपछि दिनहुँ घरायसी झगडा गर्ने गर्थे । गत असार १० गते उनले ४० वर्षीया श्रीमती माइलीलाई समेत मादक पदार्थ सेवन गर्न आग्रह गरे पनि उनले मानिनन् ।

माइलीको इन्कारी पछि बारपाकले बारीको झार मार्नका लागि तयार पारेर राखेको विषादी खान्छु भन्दै कचौरामा खन्याए । उनकी श्रीमती र छोरीले सो विषादी खोसेर फ्याँकिदिए र उनीहरू आफ्नो काममा लागे तर बारपाकले पुनः विषादी ल्याई पानी पिएझैँ पिए । माइली भन्छिन्, “हामीलाई त लागेकै थिएन उहाँले साँच्चै पिउनुहोला भनेर । त्यही भएर उहाँको कुरालाई गम्भीररूपमा लिएनौँ तर उहाँले पिउनुभएपछि हाम्रो त होसै उड्यो”, उनी गुनासो गर्छिन्, “निषेधाज्ञाको समय भएकाले तत्काल अस्पताल लान नसक्दा उहाँको अवस्था सख्त भइसकेको थियो ।”

उपचारमा ढिलाइ भएका कारण सबै आन्द्रा टाँसिएका थिए । चिकित्सकको १५दिनसम्मको अथक प्रयासका कारण बारपाक बाँच्न त सफल भए तर उनको शरीर पहिलेजस्तो सामान्य नहुने चिकित्सकको भनाइ छ । बारपाककी श्रीमती माइलीलाई अब एउटै चिन्ता छ, “तीन छोराछोरीको भविष्य अब कस्तो होला र घर खर्च कसरी चलाउने ?” बारपाकको उपचारका कारण ऋणको बोझ पनि थपिएको उनको गुनासो थियोे ।

उनीजस्तै जिल्लाका विभिन्न अस्पतालमा विष सेवनपछि अस्पताल भर्ना हुने बिरामीको सङ्ख्या बढ्न थालेको छ । बनेपाको शिर मेमोरियल अस्पतालमा विष सेवनका कारण १० दिनदेखि उपचाररत ४६ वर्षीय रामकृष्ण भुजेलका परिवारको गुनासो पनि उस्तै छ । दैनिक ज्याला मजदुरी गरेर परिवार चलाउँदै आएका भुजेल निषेधाज्ञाका कारण रोजगारी नपाएपछि मानसिकरूपमा विक्षिप्त भए । आम्दानीको स्रोत नभएका कारण निरास हुनुभएका श्रीमान्ले विष सेवन गर्नुभएको अम्बिकाले बताइन् । भुजेलले विष सेवन गरेपछि आफ्नो आर्थिक स्थिति झनै नाजुक बनेको उनको भनाइ थियो ।

दोस्रो लहरको कारोना सङ्क्रमण बढेकाले निषेधाज्ञापछि विष सेवनका बिरामीको सङ्ख्या बढ्न थालेको अस्पतालका प्रमुख अन्जिला बस्नेतले बताउनुभयो । उहाँका अनुसार निषेधाज्ञापूर्व विष सेवनका वार्षिक पाँचदेखि १० बिरामी भर्ना हुने गरेकामा हाल मासिक १५ बिरामी भर्ना भएका छन् । हालै अस्पतालमा विष सेवनपछि उपचाररत तीन बिरामीको मृत्यु भएको प्रमुख बस्नेतले बताउनुभयो ।

“प्रायः कमजोर मानसिक अवस्था भएका व्यक्तिले नै विष सेवन गर्ने गरेका पाएका छौँ”, उहाँले भन्नुभयो । मानसिक समस्यालाई अन्य रोगजस्तै जटिलरूपमा नलिएसम्म त्यस्ता घटना नियन्त्रण हुन नसक्ने उहाँको भनाइ थियो । भित्रभित्रै बेखुसी हुने, खान मन नलाग्ने, धेरै सोच्ने, रुन मन लाग्नेलगायत मानसिक समस्या देखिएमा तत्काल मनोपरामर्शदातासँग सल्लाह लिन प्रमुख बस्नेतले सुझाव दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ