मेलका रुखमा नास्पाती फलेपछि …

मेलका रुखमा नास्पाती फलेपछि …

  • बिहिबार, साउन ७, २०७८
  • मिर्मिरे अनलाइन

  • 12K
    SHARES

डोटी, ७ साउन । मेलका रुखमा नास्पाती फल्न थालेको कुरा सुन्दा पनि अचम्म लाग्ला तर जिल्लाको पूर्वीचौकी गाउँपालिका सानागाउँमा यस्तै वस्तुस्थिति देखिन्छ । सानागाउँमा केही वर्ष पहिले कलमी गरेको मेलका रुखमा लटरम्म नास्पाती फल्न थालेपछि स्थानीयवासीमा खुशीयाली छाएको छ ।

अहिले कलमी गरिएका रुखमा फलेका नास्पातीका दाना हेर्न लायकका बनेका छन् । दश वर्ष पहिले तत्कालीन जिल्ला कृषि विकास कार्यालयले मेलका बोटमा नास्पातीको हाँगा जोडी कलमी गरेकोे थियो ।

पूर्वीचौकी गाउँपालिका अध्यक्ष दीर्घराज बोगटीले भन्नुभयो, “केही काम नलाग्ने मेलका रुख काटेर किसानले फाल्ने गरेका थिए, कृषि कार्यालयको सहयोगमा कलमी गरी नास्पाती लगाएपछि अहिले फलेर लटरम्म भएको छ, किसान खुशी भएका छन् ।” खाना पकाउने दाउरासमेत नहुने उक्त रुखलाई केही वर्ष पहिले यहाँका किसानले जरैदेखि उखेलेर फाल्ने गरेका थिए ।

तत्कालीन जिल्ला कृषि विकास कार्यालयका प्रमुख यज्ञराज जोशीको पहलमा उक्त क्षेत्रमा मेलका रुखमा कलमी गरी नास्पाती लगाइएको थियो । यसरी नास्पाती फल्न थालकाले त्यहाँका किसानको आयआर्जनमा निकै वृद्धि हुने हाल दिपायल राजपुरस्थित सुदूरपश्चिम कृषि निर्देशनालयका निर्देशक बन्नुभएका उहाँले भन्नुभयो, “बिनाकामका खेर गएका रुखलाई मेरै योजनामा कलमी गरी नास्पाती बनाएका थियौँ, अहिले मेहेनतको फल फल्न शुरु भएको छ, अब किसानका आयआर्जन बढ्नेछ ।”

अहिले अन्य वडाका किसानले पनि भएका मेलमा रुखमा कलमी गरी नास्पातीका बिरुवा लगाइदिन आग्रह गर्दै आएको उक्त निर्देशनालयले जनाएको छ । सानागाउँमा फलेका नास्पाती बिक्रीवितरणका लागि केही दिनमै यहाँका साझघाट, दिपायल, राजपुर, सिलगढी तथा पिपल्ला बजारमा लैजाने तयारी भइरहेको पूर्वीचौकी गाउँपालिकाका कृषि सेवा केन्द्र प्रमुख उदयराम साउदले बताउनुभयो ।
“हामीले जिल्लाका सानागाउँ र बुडरमा मेलका रुखलाई कलमी गरी नास्पाती बनाएका थियौँ, सानागाउँमा नास्पाती फल्न शुरु भएको छ, बुडरमा पनि फल्ने तयारीमा छ, अब जिल्लाका अन्य क्षेत्रमा पनि यो प्रविधिको विकास गर्ने तयारीमा छौँ ।” निर्देशक जोशीले भन्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ