साउन ५, काठमाडौं । शेयर बजार आज घटेको छ । साथै आज कारोबार रकम पनि घटेको छ । आज सात अर्ब बढीको कारोबार भएको छ । नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव शून्य १ अंकले घटेको छ ।
यो दिन नेप्से परिसूचक २ हजार ९८५ दशमलव ५७ कायम भएको हो । यसदिन २१९ ओटा कम्पनीको ३ करोड १६ लाख ८ हजार १९३ कित्ता शेयरको ८४ हजार ४६८ पटकमा रू.७ अर्ब ८९ करोड ७५ लाख ९४ हजार २६९ दशमलव ०५ बराबरको शेयर खरीदविक्री भएको छ ।
यसदिन कारोबारमा आएका २१९ ओटा कम्पनीमध्ये दुई ओटा म्युचअल फण्डको इकाईमा सकारात्मक सर्किट लागेको छ । लक्ष्मी उन्नती कोष र लक्ष्मी इक्विटी फण्डको इकाई मूल्यमा सकारात्मक सर्किट लागेको हो । लक्ष्मी उन्नती कोषले इकाईधनीहरुलाई २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेसँगै लगानीकर्ताको आकर्षण बढेको देखिएको छ ।
यसैदिन बरुण हाइड्रोपावर कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ३९ प्रतिशत र माउण्टेन हाइड्रो नेपालको शेयर मूल्य ९ दशमलव २८ प्रतिशतले वृद्धि भएको छ ।