१ साउन, बुटवल । अल्पमतमा पर्ने देखेपछि संसदको बैठक छाडेर हिँडेका लुम्विनीका मुख्य मन्त्री शंकर पोखरेलले मध्यराति नै संसदको अधिवेशन अन्त्य गर्दै आज बिहान अध्यादेश मार्फत बजेट ल्याउने निर्णय गरेका छन् । मन्त्रीपरिषद्को बैठकले अध्यादेश मार्फत बजेट ल्याउने निर्णय गरेको हो ।
प्रदेश सरकारको आज बिहान बसेको मन्त्रिपरिषदले गरेको सिफारिसका आधारमा प्रदेश प्रमुख धर्मनाथ यादवले अर्थ र विनियोजन अध्यादेश जारी गरीसकेका छन् ।
अध्यादेश मार्फत ल्याईएको बजेटमा हेरफेर भने नभएको सरकारले जनाएको छ ।
सरकारले आर्थिक वर्ष २०७८-७९ का लागि ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँको बजेट प्रदेश सभामा पेश गरेको थियो । जसमा चालूतर्फ १४ अर्ब ९३ करोड र पुँजीगततर्फ २१ अर्ब १७ करोड ९९ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । बजेटको धेरै हिस्सा स्वास्थ्य, कृषि र पर्यटन केन्द्रित छ ।
प्रकृयामा गइसकेको बजेटलाई बिचैमा अलपत्र पारेर अल्पमतको सरकारले अध्यादेशबाट बजेट ल्याए सशक्त प्रतिवाद गर्ने बिपक्षीले चेतावनी दिएका छन् ।