नेपाली भाषाको सङ्गीत

नेपाली भाषाको सङ्गीत

  • मङ्लबार, असार २९, २०७८
  • - डा. रजनी ढकाल

  • 10K
    SHARES

प्रिय भानु,
हृदयदेखि उब्जेको नेपाली भाषाका शब्दसुमनसँगै तिमीमा समर्पित छु । जन्मदेखि आजसम्म मैले जानेका नेपाली भाषाबाट व्यक्त हुने प्रत्येक उच्च भावबाट तिमीलाई सम्झने प्रयासमा छु । हृदयको तलाउभरि ढकमक्क फुलेका कमल पत्रदलमा टङ्कन गरेका सम्मानका प्रतिलिपिहरू चढाउने ध्याउन्नमा छु, कहीँ कतै गल्ती भए माफ गरिदिनू । आफूले जानेसम्मका प्रेमिल भावहरूलाई आदरको लेपले बेरेर सुम्पिन खोज्दै छु । पक्कै स्विकार्ने छौ यो नेपाली भाषा र नेपाली संस्कारले बुनिएको मेरो आदर पत्रलाई ! तिम्रो स्वर्गीय अस्तित्वको विश्वासमा बोलिएका हुन् यी वाणीहरू, स्वीकार गर !
आदरणीय अग्रज पूर्खा भानु, तिमीलाई सम्झिनुको गौरव छ आज मसँग, तिम्रो नाम लिँदा हरबखत गर्वले फुल्ने गरेको छाती छ मसँग । पक्कै देखेका हौला, तिम्रा यी करोडौँ नेपाली सन्तानले नेपाली भाषालाई गरेको माया अनि नेपाली साहित्यप्रति देखाएको प्रियता । भाषासँग जोडिएका तिमी, साहित्यसँग जोडिएका तिमी, नेपालीपनसँग अनि नेपाली मनसँग जोडिएका तिमी ! नेपालको प्रकृति र संस्कृतिको तादात्म्यले उब्जाएको तिम्रो ज्ञान । आज हर नेपालीको मनमा तिम्रो उपस्थिति उत्तिकै प्रिय र बलियो भएको देख्दा मोतीको मनजस्तै
रामराम हुने गरेको छ यो हृदय ।
अघि भर्खर सुन्यौ नि, खोटाङको दुर्गम गाउँमा बसेको एउटा राई युवाको सपना ! ऊ पुस्तकालय खोल्न चाहन्छ रे आफ्ना आमा बाबाका नाउँमा । नेपाली भाषा साहित्यका पुस्तकहरूले पुस्तकालय भर्ने उसको सपना यही बिहानको कलिलो घामसँगै मेरो आँगनमा टुप्लुक्क झुल्कियो । अनजान ऊ, न कुनै प्रमाण न पूर्व परिचय, मैले हृदयतः विश्वासले समर्पण गरेँ बीसौँ पुस्तकहरू । जे गरेँ त्यो तिम्रै नाममा त गरेँ भानु । नेपाली भाषालाई चिनाउनु, फैलाउनु अनि यसको सेवा गर्नुको पुनीत कर्म जो सिकाएका छौ तिमीले । कस्तो जाँगर त्यो युवामा, कति साहस, घरघरमा कुनै अप्ठ्यारो र अपमानको अनुभूति नगरी नेपाली भाषाको सपनाको लागि हिँडेका उसका पाइलाहरू अघि बढ्दै छन् । उसले जानी नजानी तिम्रो पदचापलाई अघि बढाउन चाहिरहेछ । तिम्रै सपना प्रतिविम्बित थियो उसको अनुहारमा । तिमीले रामायण लेखेर चिनिन चाह्यौ, ऊ नेपाली साहित्यका पुस्तकहरू पुस्तकालयमा जम्मा पारेर भाषा सेवा गर्न चाहन्छ, चिनिन चाहन्छ उस्तै पुण्य कर्मले । तिमीले सिकाएको बाटो हिँड्ने सबै युवालाई सलाम ! नेपाली भाषा साहित्यको विकासमा लागिरहने सबै मनलाई सलाम !!
छाती फराकिलो पारेर अटाएकी छु तिमीलाई भानु । म बाँच्नुको निरन्तरतामा जोडिएका छौ तिमी, म हाँस्नुको उद्देश्यमा फेरिएका छौ तिमी । मेरो हर कर्म र व्यवहारमा अलङ्कृत भएका छौ तिमी । हो, आज तिमीले रामायणको तोरण मालाले सिँगारेको नेपाली भाषाको घरको विशाल आश्रयमा आफूलाई अस्तित्वपूर्ण बनाएकी छु । तिमीले बुनेको प्रश्नोत्तरी, वधूशिक्षा र रामगीताका सामाजिक धार्मिक संस्कारका सिँढीमा टेकेर आफूलाई अझ उन्नत बनाउने बाटोमा लागेकी छु ।
म नेपाली नागरिक तिमी जस्तै । यही भाषा बोलेर हुर्केकी, यही भाषाको परिचयले चिनिएकी अनि यही भाषालाई आफ्नो कर्म र पेसा बनाएकी एउटी नेपाली भाषाकै शिक्षिका, नेपाली भाषाकै लेखिका । म तिमीले चिनाएको वधूशिक्षाकै समाजबाट हुर्की बढेकी एउटी नेपाली चेली, बुहारी अनि आमा । समय अनुसारको संस्कार सिकाएर जीवन र परिवारमा आफूलाई अभ्यस्त पार्न सिकाएका थियौ तिमीले मलाई । उपदेश त सँधै तीतै हुन्छ, सुन्दा झट्ट लागेको थियो, हाँस्न पनि नहुने ? कस्तो आग्रही बन्यौ तिमी मप्रति ! बहुपत्नीको कति हृदयविदारक कर्तव्य रटायौ तिमीले ! तर आज बुझ्दै छु, यही समाजका सबै व्यवहार हेरिरहेकी छु, तिमीले बाँचेको समय रहेछ त्यो, तिमीले देखेको समाज रहेछ त्यो । आज त कति कुरामा बच्नु परेको छ मैले यो समाजका तिखा हेराइहरूबाट, विभेदी व्यवहारहरूबाट । पलपल जोगिने ध्याउन्न गरिनँ भने कतिबेला बगाइसक्छ यो समाजले मेरो ‘इज्जत’को पातलो तरलता । समाजको साँघुरो आवाज वधूशिक्षाको ढुङ्ग्रो बनाएर बोलिदियौ तिमीले तर समाज आज पनि नारीविषयक कतिपय पक्षमा तिमीपूर्वको युगमा बाँचेकै छ । अक्षरमा तिमीले सिकाएका रहेछौ, चिनाएका रहेछौ अनि बुझाएका रहेछौ, बिस्तारै परिवर्तन गर्नु रहेछ मैले यो समाजलाई, यसको हेराइलाई, यसका व्यवहारलाई । महिलाका समस्या चिनाउने पहिलो लेखन मानेकी छु वधूशिक्षालाई । यसको अध्ययनबाट मैले नेपाली समय र समाजसँग जोडिएको नारी चेतनाको एउटा धार खिच्नुपर्ने अनुभव गरेकी हुँ ।
बेलाबेला तिम्रा कुराहरू म बाँचेको समाज अनि मेरी आमाको हात र मुख भएर बज्रिने गरिरहे ममाथि । कति दुःखे, कति लडेँ, कति व्यथित भएँ तर आज बुझ्दै छु ती सबै मेरो जीवनलाई सही बाटोमा हिँडाउने अनुशासन थिए । मेरो जीवनको पवित्र महानदीमा होमिन तयार सङ्घर्षशील खहरे भोगाइहरू थिए ती । मलाई चेतनाको फिलिङ्गो बन्न सिकाउने तिनै भोगाइको अगेनोमा बलिरहेछु आज ।
हो म बुझ्ने भएकी छु, अधिकारका नाममा कर्तव्य भुल्नु हुन्न भन्ने कुरो । आज आफ्नै स्वाभिमानमा उभिएर तिमीलाई सम्झिँदा नतमस्तक हुन मन लागिरहेछ, मेरी आमाले सिकाएका हर संस्कारसँग जोडिएका रहेछौ तिमी । लगनशीलता, विनम्रता अनि अनुशासनको कठोर पाठले कोरेको मेरो बाल्यकालको गोरेटोको सामाजिक परिकल्पनालाई नै त उतारेका थियौ तिमीले ती अक्षरहरूमा । आज मेरो अधरमा खुल्ने गरेको उन्मुक्त हाँसो आफ्नै स्वाभिमानले निकालेको त हो । यो समाजले उचाल्न थालेको परिवर्तनको मूल मियो पनि यही समाजमा नै त गाडिएको रहेछ । हो कुनै नयाँ सोच आउनका लागि समाजको यथास्थिति बारे जानकारी हुनै पर्छ नि ! उज्यालोको अस्तित्व अन्धकारसँग जोडिए जस्तै, विकासको जरो अविकासबाटै सुरू भए जस्तै आजको मेरो स्वतन्त्रतामा तिमीले बुनेका वधूका सपनाहरू जोडिएका छन् भानु । नारी मुक्तिको आन्दोलनमा उर्लिने आवाजमा तिम्रो वधूशिक्षाले आँट भरिदिएको हो । भानु, आजको समयको आँखाले मैले तिम्रा वधूप्रतिका विचारलाई विरोध गर्नैपर्छ, तर म सोच्छु, तिमी पनि त हामी लगायत अरु सबै जस्तै आफ्नो समयका विश्वास र मान्यताको पर्खालभित्र रहेरै त लेखिरहेका थियौ नि ।
आज तिमी हुनुको प्रियता छ मसँग, आज तिमी हुनुको गौरव छ मसँग, आज तिम्रो अग्रताको स्वाभिमानले उठाएको इतिहास छ मसँग । मैले फेरेका हरेक श्वाससँग नेपाली हुनुको गर्व छ भने मैले गरेका हरेक अनुभूतिसँग नेपाली भाषी हुनुको आत्मगौरव छ ।
शरीरका हरेक नसामा बगेका रगतका थोपालाई थाहा छ, मेरो मांसका हरेक कणलाई थाहा छ, चेतनाका प्रत्येक झिल्कालाई थाहा छ आज म तिमीले आफूलाई गौरवपूर्ण रुपमा नेपाली समाजमा चिनाएको नेपाली भाषा अँगालेर बाँचेकी छु भन्ने कुरा । मेरो धर्म, कर्म र कर्तव्य यही भाषामा जोडिएको छ ।
आमाको गर्भदेखि सुन्दै आएको यो भाषा आज पेसा र व्यवसायकै रुप लिएर मेरो जीवनको आधार बन्न गएको छ । तिम्रा सिर्जनाहरूले सिकाएको स्वरलाई आज अझ तिखो पारेर सुसेल्न सिकेकी छु मैले । नेपाली प्रकृति, संस्कृति र संस्कारसँग जोडिएको तिम्रो भाषिक सीप आज करोडौँ नेपालीको परिचयको बलियो आधार बनेको छ ।
भाषा हो सभ्यता हाम्रो सारा उदय उन्नति
जाति वैभव भाषामै बाँच्दछन् पछिसम्म ती
तिम्रै अनुज पुस्ता समले सिकाएका यी वाणीलाई रुपनारायणबाट आफूमा रोपेकी हुँ मैले । देवकोटाले हानेको ‘भूतलाई झटारो’ पूर्णतः मनन गरेकी छु अनि कक्षाकोठामा आफ्ना शिष्यहरूलाई बुझाएकी छु यसको मर्म । गाँस, बास र कपास जस्तै भाषा पनि जीवनको अपरिहार्य तŒव नै भएछ मेरा लागि । यसैले अँगाल्छु भाषालाई सासलाई जस्तै । भानु तिमीलाई अझ प्रस्ट पारुँ, पढ्नु, पढाउनु र लेख्नु मेरा कर्महरू हुन् । बाँच्नुसँगै गाँसिएका यी कर्महरूको प्रत्यक्ष सम्बन्ध छ नेपाली भाषासँग ।
गर्भबाटै सिकेको यो भाषालाई जीवन बाँच्ने आधार र रमाउने सौख बनाउन पाउँदाको खुसी मसँग कति होला भन्ने कुरा अनुमान गर्न जान्दिनँ म भानु । हो, सहज प्राप्य वस्तुको महŒव प्रयोग कर्तालाई उति हुन्न पनि । कति रहर होला एउटा आवाजहीन नेपालीलाई नेपाली भाषामा बोल्ने । कति रहर होला अक्षर नचिनेका नेपालीहरूलाई नेपाली भाषा लेख्ने र पढ्ने । कति रहर होला भाषा जानेर पनि भावलाई कागजमा कोर्न नपाउने व्यक्तिलाई । सायद यसैको प्रियताले जन्मायो झमककुमारीलाई । भाषाको मोहले ? बोल्नुको रहरले ? हो भानु भाषामा बाँच्न पाउनुको भव्यता कत्रो रहेछ जीवनमा यस्तै यस्तै कुराहरू सम्झेर बुझ्ने गरेकी छु मैले भाषाको महŒव अनि तिम्रो कर्मको प्रियता । बोलीमा मात्र सीमित भएको यो भाषालाई सामाजिक, सांस्कृतिक र धार्मिक भव्यता सहित साहित्यिक रूपमा सिँगार्ने प्रथम गुरू तिमी नै भयौ, अनुवादै गरे पनि मौलिक बन्यौ । यसैले त भनियौ आदिकवि ! मोतीको कर्मसँग जोडिएर नेपाली साहित्यको हीरा भयौ तिमी ! युग युगान्तसम्म नेपाली भाषाको सुन्दर गहना भएर बाँच्ने सम्मान पाएका छौ तिमीले ।
हो भानु बारम्बार सम्झिन्छु तिमीलाई । नेपाली भाषाको मायामा डुबेको तिम्रो जीवनलाई अनि तिमीले विकसित बनाउँदै लगेको नेपाली भाषाको रूपलाई अनि समयसँगै विस्तार हुँदै गएको यो भाषाको अनुहारलाई । आज विभिन्न देशका मान्छेहरू यो भाषा सिक्दैछन् । विश्वविद्यालयको कक्षाकोठामा विदेशी विद्यार्थीहरूलाई नेपाली भाषा पढाइरहँदा तिम्रै कर्मको मिर्मिरेमा उदाएको अपूर्व ज्योति चम्किरहन्छ मनभरि ।
भानु, आज विश्वका सयौँ देशमा पुगेका नेपालीहरूसँगै पुगेका छौ तिमी । विदेशमा पनि कयौँ सर्जकसँगै बाँचेका छौ तिमी । कहिले शब्दमा त कहिले मूर्तिमा सम्मानित भएका छौ । तिम्रो जन्मजयन्ती सर्वप्रथम यस्तै मायालु मनहरूले विदेशबाटै मनाउन सुरू गरे भन्नुहुन्छ अनुसन्धाता रमा शर्मा दिदी । उहाँको ‘केही चिन्तन’ पुस्तकमा नै त पढेकी हुँ मैले । दार्जिलिङले उघारेको त्यो उदार मनको दैलो आज जहाँतहीँ तिम्रै स्वागतमा उभिएको छ । असार २९ को पुण्य दिनमा मात्रै कहाँ सीमित भएका छौ र तिमी ! आज तिम्रो जन्मजयन्तीको द्विशतवार्षिकी मनाइरहँदा दिनदिनै तिम्रा नाममा लेख लेख्ने अनुरोधहरू चिठी, फोन, इमेल र पत्रपत्रिकाबाट थुप्रिएका छन् मेरा सामु । यी प्रस्तावहरूलाई हेर्दै फुलेकी छु खुसीले । आज सम्पूर्ण भाषासाहित्य सेवी तिम्रो र नेपाली भाषाको फैलावटको महयज्ञमा होमिएका छन् भानु ।
भाषा आधार हो, ज्ञान लक्ष्य हो । लक्ष्य प्राप्तिको यो मूलबाटो सहज भएर त यहाँ पुगेकी हुँ म । आधार नै नपाउनेहरू के गर्दा हुन खै ? तिमी नेपाली भाषिक र सांस्कृतिक एकताको महानदीको पवित्र मुहान भएर नेपालीको मनमनमा बगेका छौ ।
भानु, नेपालीका गला र कलामा उभिएका महान् कलाकार हौ तिमी । नेपालीभाषीको एकतामय बाँसुरीमा बजिरहने मधुर सङ्गीत हौ तिमी । नेपाली भाषालाई एकताबद्ध गर्ने मूल डिको हौ, नेपाली हृदयको सग्लो चित्रलाई आकार दिने आधार रेखो हौ, अनि नेपाली साहित्य लहराको मूल टेको हौ । तिमीले लगाउने गरेको दौरा सुरूवाल र बिर्के टोपीमा सजिएका छन् रामायणका राम पनि । त्यही राम नवमीमा जन्मिएको मेरो छोरोलाई पनि बारम्बार सजाउने गरेकी छु मैले त्यही परिधानमा । तिम्रै नव आयाम हो ऊ नेपाली नव पुस्ताको । बाँचुञ्जेल हाम्रा सन्ततिहरू, बाँच्ने छन् तिम्रा सबै सपनाहरू ।
पापा, चाचा… भन्दै सुरू गरेको मेरो भाषाको कथा आज जीवनको मूल लक्ष्य, साधन अनि साध्य सबै बनेको छ । भाषा नै खेलाएर बाँच्नुको उपव्रmम सुरू गरेको मेरो जीवनले यसैलाई घर माइती दुवै बनाएको छ । जन्म र कर्म सबै एउटै भाषामा बाँधिनुको मधुर ध्वनिले सुसङ्गीत छु आज ।
समय आफ्नो प्रवाहमा बगिरहेको छ, जीवन निरन्तर यसैको रेखोमा चलिरहेको छ । मेरो जीवनको मूल टेको नेपाली भाषा बनिरहेको छ भानु । प्रत्येक भोरमा उदाउने भानुसँगै यो जीवनको कर्म सुचारू छ ।
आजलाई यत्ति, फेरि सम्झिने वाचासहित
उही तिम्री
नेपाली मातृभाषी चेली

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी