असार २९, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार शेयर बजार १६ दशमलव ३४ अंकले बढेर २ हजार ८७१ दशमलव शून्य ३ विन्दुमा पुगेर बन्द भएको छ ।
सोमवार ४५ दशमलव शून्य ६ अंकले घटेर २ हजार ८५४ दशमलव ७६ विन्दुमा बन्द भएको बजार मंगलवार भने शून्य दशमलव ५७ प्रतिशतले बृद्धि भएको हो । यस दिन २ हजार ८६७ दशमलव १६ विन्दुदेखि खुलेको बजार २ हजार ८८३ दशमलव ५७ विन्दुसम्म पुगेको थियो ।
मुलुकले नयाँ प्रधानमन्त्री पाएको दिन बजारले पनि सकारात्मक रुपमा स्वागत गरेको देखिन्छ । मंगलवार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ ।
प्रधानमन्त्रीमा नियुक्त हुनुभएका देउवाले साँझ ६ बजे शपथ लिने कार्यक्रम तय भएको छ । मंगलवार समग्र धितोपत्र कारोबार मापक नेप्से परिसूचकसँगै ठुला कम्पनीहरुको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि ४ दशमलव ७४ अंक बढेर ५३९ दशमलव ५१ विन्दुमा पुगेको छ ।
मंगलवार सोमवारको तुलनामा नेप्से परिसूचक बढेपनि कारोबार रकम भने घटेको छ । सोमवार रू. ९ अर्ब ९८ करोड २६ हजार बराबरको २ करोड ६० लाख २१ हजार १०४ कित्ता शेयर कारोबार भएकोमा मंगलवार रू. ५ अर्ब ५४ करोड ६३ लाख ५६ हजार बराबरको १ करोड २३ लाख ४८ हजार ३८९ कित्ता शेयर कारोबार भएको छ । यो कारोबार २२३ कम्पनीको ५३ हजार १३९ पटकको व्यापारमा भएको हो ।
मंगलवार नेपाल बङ्गलादेश बैंकको सर्वाधिक रकमको शेयर कारोबार भएको छ । उक्त कम्पनीको रू. ४५ करोड ४७ लाख ४७ हजार बराबरको शेयर कारोबार भएको हो । सर्वाधिक रकमको कारोबार भएको उक्त कम्पनीको शेयरमूल्य पनि प्रतिकित्ता रू. ९ ले बढेर रू. ६६२ कायम भएको छ । यस दिन कम्पनीको संस्थापक शेयरधनी आईएफआईसी बैंक लिमिटेड, ढाकाले आफ्नो सम्पूर्ण शेयर विक्री गर्ने सूचना सार्वजनिक भएको थियो ।
विद्यमान संस्थापक शेयरधनीहरुका लागि आगामी ३५ दिनभित्र निवेदन दिने गरी कम्पनीले ३६ करोड ८ लाख २७ हजार ४२६ कित्ता शेयर विक्रीको सूचना सार्वजनिक गरेको हो ।
उक्त सूचना बाहिरिएसँगै कम्पनीको शेयर खरीदमा लगानीकर्ताहरुको आकर्षण बढेको हो । यस दिन जीवन बीमा समूहको परिसूचक शून्य दशमलव ३९ प्रतिशत घटेको छ भने बाँकी समूहको बढेको छ । वित्त समूहको सर्वाधिक ४ दशमलव शून्य ३ प्रतिशतले परिसूचक बढेको यो दिन विकास बैंकको दोस्रोमा १ दशमलव ५४ प्रतिशतले परिसूचक बढेको हो ।
त्यस्तै बैंकिङ्गको शून्य दशमलव ७३ प्रतिशत, व्यापारिकको शून्य दशमलव २३ प्रतिशत, होटल्स तथा पर्यटनको शून्य दशमलव ५४ प्रतिशत, जलविद्युतको शून्य दशमलव ५१ प्रतिशत, निजीवन बीमाको शून्य दशमलव १ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव शून्य ८ प्रतिशत, अन्यको शून्य दशमलव ३८ प्रतिशत, लघुवित्तको शून्य दशमलव ६४ प्रतिशत, म्युचुअल फण्डको शून्य दशमलव शून्य ४ प्रतिशत र लगानी समूहको शून्य दशमलव ३८ प्रतिशत परिसूचक बढेको छ ।
यस दिन छ ओटा कम्पनीको शेयरमूल्य ६ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ भने सानिमा लार्ज क्याप फण्डको सर्वाधिक ३ दशमलव शून्य ८ प्रतिशतले मूल्य घटेको छ । सानिमा लार्ज क्याप फण्डको इकाई मूल्य प्रतिइकाई रू. शून्य दशमलव ३२ ले घटेर अन्तिम मूल्य रू. १० दशमलव शून्य ८ कायम भएको हो ।
मंगलवार सेञ्ट्रल फाइनान्सको ६ दशमलव ९८ प्रतिशत, समृद्धि फाइनान्सको ६ दशमलव ७९ प्रतिशत, मञ्जुश्री फाइनान्सको ६ दशमलव ६६ प्रतिशत, प्रोग्रेसिभ फाइनान्सको ६ दशमलव ५२ प्रतिशत र आइसिएफसी फाइनान्सको ६ दशमलव ५२ प्रतिशत शेयरमूल्य वृद्धि भएको हो । सर्वाधिक मूल्य वृद्धि भएको सेन्ट्रल फाइनान्सको प्रतिकित्ता रू. ३० ले बढेर अन्तिम मूल्य रू. ४६० कायम भएको छ ।
त्यस्तै समृद्धि फाइनान्सको प्रतिकित्ता रू. ३० ले बढेर अन्तिम मूल्य रू. ४७२, मञ्जुश्री फाइनान्सको प्रतिकित्ता रू. ७२ ले बढेर अन्तिम मूल्य रू. १ हजार १५३, प्रोग्रेसिभ फाइनान्सको प्रतिकित्ता रू. २४ ले बढेर अन्तिम मूल्य रू. ३८८ र आइसिएफसी फाइनान्सको प्रतिकित्ता रू. २४ ले बढेर अन्तिम मूल्य रू. ३८८ कायम भएको छ ।