नमोबुद्धको दसौं नगरसभा सम्पन्न, ६९ करोड बराबरको बजेट पारित

नमोबुद्धको दसौं नगरसभा सम्पन्न, ६९ करोड बराबरको बजेट पारित

  • सोमवार, असार २८, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

भकुण्डेबेशी, २८ असार । नमोबुद्ध नगरपालिकाको दसौं नगरसभा (बजेट अधिवेशन) आगामी आर्थिक बर्ष २०७८/७९को बजेट, नीति तथा कार्यक्रम पारित गर्दै आज सोमबार सम्पन्न भएको छ । नगरसभाले नगर प्रमुख टिपी शर्मा तिमल्सिनाद्वारा असार १० गते बसेको दशौं सभाको पहिलो बैठकमा प्रस्तुत बजेट, नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गरेको हो ।
नगर प्रमुख तिमल्सिनाको अध्यक्षतामा सम्पन्न नगरसभाले असार १० गते पेश भएको बजेटमा केही संशोधनसहित ६९ करोड ३ लाख २७ हजार ९ सय २३ रुपैयाँ बराबरको बजेट पारित गरेको छ । जसमा चालुतर्फ १५ करोड ७ लाख ४ हजार ९ सय २३ तथा पुँजीगततर्फ ५३ करोड ९६ लाख २३ हजार रुपैयाँ खर्च प्रस्ताव गरिएको छ । आयमा आन्तरिकतर्फ १३ करोड, ८ लाख १० हजार ३ सय ९४ अनुमान गरिएको छ । यस्तै राजस्व बाँडफाँडबाट ९ करोड ९६ लाख ३७ हजार पाँच सय ३०, वित्तीय समानीकरणमा संघ तथा प्रदेशबाट १२ करोड ३ लाख ४ हजार, सशर्त अनुदान ३० करोड १२ लाख ७६ हजार तथा समपुरक अनुदान ३ करोड ८३ लाख रुपैयाँ रहेको छ ।
नगरसभाले “स्वास्थ्य, शिक्षा, उत्पादन र रोजगारः दिगो विकास र समृद्धिका लागि पूर्वाधार“ भन्ने मूल ध्येय लिई विगतका नीति तथा कार्यक्रमलाई निरन्तरता दिई लोक कल्याणमा आधारित कार्यक्रम संचालन गर्ने गरी तयार पारिएको नीति तथा कार्यक्रम पारित गरेको छ । नगरसभाबाट पारित नीति तथा कार्यक्रममा जेष्ठ नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने, नगरका प्रत्येक वडामा कृषि औजार बैंक स्थापना गर्ने, सबै वडामा पशु तथा कृषि बिमा कार्यक्रम विस्तार गर्ने, एक गाउँ एक उत्पादन कार्यक्रम सञ्चालन गर्ने, नगरभित्रै शीत भण्डारको व्यवस्था गर्ने, आधुनिक पशुपंक्षी बधशाला तथा कोल्डस्टोर स्थापनाका लागि पहल गर्ने उल्लेख छ । यस्तै डिजिटल कृषि, कृषकको हातमा सूचना प्रणाली कार्यक्रम सञ्चालन गर्ने, नमोबुद्ध सिड बैंक स्थापना गर्ने तथा पाडी संरक्षण कार्यक्रम सञ्चालन गर्ने, बुहारी प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।
नमोबुद्ध नगरपालिकाले आफ्ना आमाबाबुको राम्रो पालनपोषण गर्ने सन्तानलाई सम्मान गर्ने निर्णय पनि नगरसभाबाट गरेको छ । जसअनुसार प्रत्येक वडाबाट दुई जनालाई सम्मान गरिनेछ ।
नगरसभा बैठकले विधायन समितिका संयोजक एवं वडा नं. २ का वडाअध्यक्ष सञ्जीव ढकालद्वारा प्रस्तुत विनियोजन विधेयक तथा लेखा समितिका संयोजक एवं वडा नं. १० का वडाअध्यक्ष रामकृष्ण अधिकारीद्वारा प्रस्तुत आर्थिक विधेयक पनि सर्वसम्मत पारित गरेको छ ।
नगरसभा बैठकको समापन गर्दै नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले सौहार्दरुपमा सभा सम्पन्न बनाउन साथ दिने नगरसभा सदस्यहरुसहित सबै सरोकारवालालाई धन्यवाद दिए । समृद्ध नगर बनाउने अभियानमा अहिलेसम्म सबैसँग सहकार्य गर्दै आइएको र आगामी दिनमा पनि सहकार्यको प्रचलनलाई निरन्तरता दिने तिमल्सिनाले बताएका छन् । उनले कोभिड १९ को जोखिमपूर्ण परिस्थितिमा अग्रपंक्तिमा रहेर सेव ागर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाईकर्मी, जनप्रतिनिधि, कर्मचारी लगायत सबै सरोकारवालालाई धन्यवाद दिए । बैठकमा धन्यवाद मन्तव्य गर्दै नगरपालिका उपप्रमुख रामदेवी तामाङले विगत चार बर्षदेखि सर्वसम्मतिले बजेट पारित गर्दै आएको र यसपटक पनि सर्वसम्मतिमै बजेट पारित भएकोमा खुशी व्यक्त गरिन् । उनले नगरपालिकामा राम्रो कार्य गर्नेलाई प्रोत्साहनको व्यवस्था गरिएको भन्दै बजेटको समयमै कार्यान्वयन गर्नुपर्नेमा जोड दिइन् ।
नगरसभा सम्पन्न भएपछि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले नगरसभाबाट पारित बजेट, नीति तथा कार्यक्रमलाई आर्थिक बर्षको सुरुदेखि नै प्रभावकारीरुपमा कार्यान्वयनका लागि लैजाने बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी