असार २८ काठमाण्डौँ । मनकामना स्मार्ट लघुवित्तको आईपिओ बाँडफाँट भएको छ ।
लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलको कार्यालयमा आज वितरण भएको आईपिओ आवेदकको २ प्रतिशत भन्दा कमलाई मात्र परेको छ ।
लघुवित्तको आईपीओमा कुल १९ लाख ५४ हजार २७४ आवेदकले २ करोड ५१ लाख ३३ हजार २९० कित्ताका लागि आवेदन दिएका थिए। जसमध्ये २ हजार ७५३ आवेदकको ३७ हजार ९२० कित्ताका लागि दिइएको आवेदन रद्द भएको छ।
आवेदनभन्दा बढी माग परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार बाँडफाँट गरिएको हो। जसअनुसार ३६ हजार ३४९ जनाले लघुवित्तको शेयर प्राप्त गरेका छन्। आवेदकको ९८ प्रतिशत बढीको हात खाली भएको छ ।
लघुवित्तले असार १७ गतेदेखि प्रतिकित्ता १०० अंकित मूल्यका ३ लाख ८९ हजार कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो ।
यसमध्ये लघुवित्तले ६ हजार ५८ कित्ता अर्थात जारी पूँजीको ०.५ प्रतिशत शेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात १९ हजार ४५० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ ।